काठमाडौं ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सञ्चालन हुँदै आएको नक्कली ब्राण्डेड मदिरा उत्पादन केन्द्रमा सशस्त्र प्रहरीले छापा मार्दै ठूलो परिमाणमा मदिरा, केमिकल र राजश्व स्टिकर बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल इण्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा खटिएको टोलीले विर्खबहादुर तामाङको घरमा अवैध रूपमा नक्कली विदेशी मदिरा उत्पादन भइरहेको अवस्थामा छापा मारेको हो ।
छापाका क्रममा रेड लेबल, ब्ल्याक लेबललगायत महँगा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन भइरहेको फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले तयार पारिएका मदिरा काठमाडौं उपत्यकाका विभिन्न बजारसहित भाटभटेनीका स्टोरसम्म सप्लाई गर्ने गरेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार गिरोहले एउटा सक्कली मदिराको बोतलमा चीनबाट ल्याइएको केमिकल मिसाएर पाँच बोतलसम्म नक्कली मदिरा तयार गर्ने गरेको पाइएको छ । नक्कली मदिरामा प्रयोग गरिने अन्तःशुल्क स्टिकरसमेत भारतमा छपाइ गरेर ल्याइने गरेको अनुसन्धानमा खुलेको छ ।
सशस्त्र प्रहरीको टोली व्यापारीको भेषमा कारखानासम्म पुगेपछि उक्त अवैध कारोबारको रहस्य खुलेको बताइएको छ । मंगलबार मात्रै भाटभटेनीमा पठाउन तयारी अवस्थामा राखिएको ठूलो परिमाणको मदिरा प्रहरीले बरामद गरेको हो ।
कारबाहीका क्रममा प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती क्षेत्रका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङलाई पक्राउ गरेको छ ।
उक्त स्थानबाट नक्कली मदिरा बनाउन प्रयोग हुने विभिन्न केमिकल, उपकरण, खाली बोतल, होलोग्राम, राजश्व स्टिकर तथा प्याकेजिङ सामग्रीसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद मदिराको परिमाण अत्यधिक भएकाले यकिन विवरण संकलन भइरहेको छ ।
अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूका अनुसार यो गिरोह यसअघि पनि सोही क्षेत्र नजिकै नक्कली मदिरा उत्पादनमा संलग्न रहेको खुलेको थियो । त्यसबेला पनि प्रहरीले छापा मारेर सामग्री बरामद गरेको र केही व्यक्ति पक्राउ परेका थिए । जेल सजाय भोगेर छुटेपछि पुनः सोही समूह नक्कली मदिरा उत्पादनमा सक्रिय भएको प्रारम्भिक निष्कर्ष छ ।
घटनापछि उपभोक्ता सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । विशेषगरी प्रतिष्ठित व्यापारिक केन्द्रसम्म यस्ता नक्कली मदिरा पुगिरहेको खुलासाले बजार अनुगमन र सरकारी नियमनमाथि समेत प्रश्न खडा गरेको छ ।
यद्यपि भाटभटेनी लगायतका बजारमा बिक्री हुने मदिराको गुणस्तर र आपूर्ति शृंखलाबारे सरकारी निकायले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।
सशस्त्र प्रहरीले पक्राउ परेका चारै जनामाथि राजस्व छली, किर्ते तथा उपभोक्ता हितविपरीतका कसूरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
–––











प्रतिक्रिया