अध्यादेशबाट पदमुक्त भएका प्राडा हुमागाईं  पुनः केयू मेडिकल साइन्सेजका डीन नियुक्त


काठमाडौं। 

काठमाडौँ विश्वविद्यालय (केयू) ले स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा प्राध्यापक डा. मनोज हुमागाईंलाई पुनः जिम्मेवारी दिएको छ । विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई डीनको जिम्मेवारी तोकेको जनाएको छ ।

केयूले २०८३ जेठ ४ गते उपकुलपतिस्तरीय निर्णय गर्दैहुमागाईंलाई डीन पदमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राडा हुमागाईँ यसअघि पनि केयू स्कुल अफ मेडिकल साइन्सेजको डीनका रूपमा कार्यरत हुनुहुन्थ्यो । तर, गत २०८३ वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेको “सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” लागू भएपछि काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ अनुसार नियुक्त उपकुलपतिसहित २५ जना पदाधिकारी पदमुक्त हुनुभएको थियो ।

सो अध्यादेशको प्रभाव डीन तथा विभिन्न शैक्षिक निकायका पदाधिकारीहरूमा समेत परेको थियो । प्राडा हुमागाईँ  पनि सोही निर्णयअनुसार पदमुक्त भएका व्यक्तिमध्ये एक हुनुहुन्थ्यो । तर विश्वविद्यालय प्रशासनले मेडिकल शिक्षाको शैक्षिक तथा प्रशासनिक कार्यलाई निरन्तरता दिन आवश्यक रहेको भन्दै उहाँलाई पुनः जिम्मेवारी दिएको जनाएको छ । केयू स्रोतका अनुसार मेडिकल शिक्षासँग सम्बन्धित प्रशासनिक निर्णय, शैक्षिक व्यवस्थापन तथा अस्पताल समन्वय प्रभावित हुन नदिन अस्थायी रूपमा पुनः जिम्मेवारी दिइएको हो ।

यस घटनालाई विश्वविद्यालयभित्र अध्यादेश कार्यान्वयन र स्वायत्तताको विषयसँग जोडेर समेत हेरिएको छ । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार विश्वविद्यालयका पदाधिकारी हटाउने र पुनः जिम्मेवारी दिने घटनाले विश्वविद्यालय प्रशासनमा अस्थिरता बढाउने जोखिम देखिएको छ ।