काठमाडौं ।
काठमाडौँको गोठाटार क्षेत्रबाट प्रहरीले म्याग्जिनसहितको पेस्तोल बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेंलो पुलस्थित सन्दिप परियारले हातहतियार लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार उक्त हातहतियार बरामद गरेको हो ।
प्रहरीका अनुसार बिग्रिएर चल्न नसक्ने बा ४ ख ५२४१ नम्बरको आइचर गाडीको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा म्याग्जिनसहितको पेस्तोल एक थान फेला परेको थियो ।
घटनापछि प्रहरीले सन्दिप परियारलाई आवश्यक पक्राउ पुर्जी दिई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका परियारमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पाटीटार चोकबाट प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ ।
सोक्सोम दोर्जे लामाले हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पाटीटार क्षेत्रबाट कालो रंगको इनामेल लगाइएको “मार्क–२ जी.एस.आर. ९९१” लेखिएको एयर गन एक थान बरामद गरिएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखालका २६ वर्षीय सोक्सोम दोर्जे लामा रहेका छन् ।
उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया