चलचित्र पत्रकारिता

सम्मान र पुरस्कारको घोषणा


चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष आफनो स्थापनाको दिन पारेर जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवस यसपटक पनि मनाउने भएको छ।

संघले सो अवसरमा प्रदान गरिने चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कारको घोषणा पनि गरेको छ। संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा शनिवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठ ७ गते बिहीबार आयोजना हुने २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा यस वर्ष प्रदान गरिने राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारबारे सर्वसम्मत निर्णय गरेको हो।

संघका महासचिव गोपीकृष्ण चापागाईंका अनुसार अनन्त वाग्लेलाई नगद ५५ हजार ५ सय ५५ रुपिया“सहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ प्रदान गरिने भएको छ। राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान स्व. दिनेश सिटौलालाई प्रदान गरिने भएको छ। त्यसै गरी राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ जयन सुब्बा मानन्धर र कुबेर गिरीलाई प्रदान गरिने भएको छ।

त्यसै गरी सुरक्षा भट्टराईलाई नगद ५१ हजार ५ सय ५५ संघका पूर्व अध्यक्ष दिनेश सिटौलाको नामबाट नामकरण गरिएको स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ प्रदान गरिने भएको छ। त्यसै गरी वैकुण्ठराज पराजुलीलाई नगद ५१ हजार ५ सय ५५ सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ र मिलन ढुंगानालाई नगद २५ हजार रुपिया“सहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने निर्णय बैठकले गरेको छ। महासचिव चापागाईंका अनुसार सम्मान र पुरस्कार राजधानीमा आयोजना हुने एक भव्य समारोहबिच प्रदान गरिनेछ।