काठमाडौं ।
बदलिँदो अपराधको स्वरूप, बढ्दो साइबर चुनौती, नागरिकको अपेक्षा र प्रविधिको तीव्र विकाससँगै नेपाल प्रहरीले आफूलाई थप आधुनिक, चुस्त र नागरिकमैत्री बनाउने लक्ष्यसहित नयाँ रणनीतिक योजना अघि सारेको छ ।
नेपाल प्रहरीले आगामी तीन वर्षका लागि लागू हुने ‘नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५’ सार्वजनिक गर्दै प्रहरी सेवालाई प्रविधिमैत्री, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको हो ।
नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण भन्ने मूल नारासहित ल्याइएको योजनाले प्रहरी प्रशासनभित्र प्रविधिको प्रयोग बढाउने, अनुसन्धान प्रणालीलाई वैज्ञानिक बनाउने तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको योजनामा सुरक्षित समुदायका लागि चुस्त प्रहरी सेवा भन्ने रणनीतिक अवधारणालाई केन्द्रमा राखिएको छ । प्रहरी नेतृत्वका अनुसार अबको प्रहरी सेवा केवल अपराध भएपछि प्रतिक्रिया दिने प्रणालीमा सीमित रहने छैन, बरू अपराधको कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्ने समस्या–केन्द्रित प्रहरी व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी राज्यको पहिलो सुरक्षा निकायका रूपमा प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले पहिले जनता भन्ने भावनालाई आत्मसात् गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
उहाँले प्रहरीको कार्यक्षमता केवल संगठनभित्रको व्यवस्थापनले मात्र नभई नागरिकले अनुभूति गर्ने सेवा र व्यवहारले पनि निर्धारण गर्ने उल्लेख गर्दै रणनीतिक योजनाले प्रहरीलाई थप जिम्मेवार र जवाफदेही बनाउने लक्ष्य रहेको बताउनुभयो ।
नेपाल प्रहरीले अहिले देशभर ४ हजार १६ वटा प्रहरी युनिटमार्फत सेवा दिइरहेको छ । तर, तीमध्ये १ हजार ३ सय ५६ वटा युनिट अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेका छन् । भवन अभाव, पूर्वाधार कमजोरी र स्रोत–साधनको सीमितताका कारण धेरै ठाउँमा प्रहरीले अपेक्षा अनुसार सेवा दिन कठिनाइ भोगिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
यही चुनौतीलाई ध्यानमा राख्दै नयाँ योजनाले भौतिक पूर्वाधार विकासलाई पनि उच्च प्राथमिकतामा राखेको छ । प्रहरी नायव महानिरीक्षक राजेन्द्र भट्टका अनुसार विगतको रणनीतिक योजना २०८०–०८२ अन्तर्गत विभिन्न प्रहरी कार्यालयमा सहायता कक्ष निर्माण, ‘विपन क्लियरिङ पिट’ स्थापना, इन्ट्रानेट सेवा विस्तार, सीसीटीभी जडान, पुस्तकालय निर्माण तथा भवन निर्माणका काम सम्पन्न भएको छ ।
प्रहरीले अघिल्लो रणनीतिक योजनामा समेटिएका ९३ मुख्य लक्ष्य र ४० कार्यगत उद्देश्यहरूमध्ये अधिकांशमा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ । यस अवधिमा ६४ वटा नीति, निर्देशिका, मापदण्ड र कार्यविधि तयार पारिएको जनाइएको छ ।
नयाँ रणनीतिक योजनाले सात प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखेको छ । जसमा नीति तथा योजना, अन्तरनिकाय समन्वय, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानव स्रोत विकास, भौतिक पूर्वाधार तथा सूचना प्रविधि समावेश छन् ।
विशेषगरी पछिल्लो समय बढ्दै गएको साइबर अपराध, डिजिटल ठगी, सामाजिक सञ्जालमार्फत हुने अपराध तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि कृत्रिम बौद्धिकता (एआई) सहित आधुनिक प्रविधिको प्रयोग बढाउने योजनामा उल्लेख गरिएको छ ।
यससँगै नेपाल प्रहरीले नागरिक गुनासा, उजुरी तथा घटनाबारे जानकारी दिन अनलाइन प्रणालीको समेत सुरुवात गरेको छ । प्रहरीका अनुसार यसले सेवाग्राहीलाई प्रहरी कार्यालय धाउनुपर्ने झन्झट कम गर्नेछ भने घटनाको प्रारम्भिक सूचना संकलनलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ ।
योजनाले समुदाय–प्रहरी साझेदारीलाई पनि जोड दिएको छ । स्थानीय समुदायसँग सहकार्य गरेर अपराध रोकथाम गर्ने, नागरिकसँग विश्वासको सम्बन्ध बलियो बनाउने र सामाजिक समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्ने रणनीति अघि सारिएको छ ।
त्यसै गरी सूचना–आधारित अनुसन्धान प्रणालीलाई सुदृढ बनाउने, अपराध अनुसन्धानलाई विशिष्टीकरण गर्ने तथा वैज्ञानिक अनुगमन र मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।
प्रहरी प्रशासनभित्र कार्यसम्पादन मूल्यांकन प्रणालीलाई थप प्रभावकारी बनाउने, जनशक्तिको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा तालिम प्रणालीलाई आधुनिक बनाउने विषय पनि योजनामा समेटिएको छ ।
नेपाल प्रहरीले रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रत्येक वर्ष कार्ययोजना तयार गरिने जनाएको छ । सबै प्रहरी इकाइले कार्यसम्पादन सम्झौतामार्फत योजनाका कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था मिलाइने प्रहरी मुख्यालयको भनाइ छ ।
यद्यपि, चुनौती भने कम छैनन् । सीमित बजेट, पुराना संरचना, प्रविधिको अभाव, बढ्दो अपराधको नयाँ स्वरूप र जनअपेक्षाबीच नेपाल प्रहरीले रणनीतिक योजनालाई व्यवहारमा कसरी उतार्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।
तर, पछिल्ला वर्षहरूमा प्रहरीले प्रविधि प्रयोग, अनुसन्धान सुधार र सेवा प्रवाहलाई डिजिटल बनाउने प्रयास थालेकाले नयाँ रणनीतिक योजना कार्यान्वयन हुन सके नेपाल प्रहरी थप आधुनिक, व्यावसायिक र नागरिकमैत्री संस्थाका रूपमा विकास हुने अपेक्षा आम जनताले गरेका छन् ।











प्रतिक्रिया