काठमाडौं ।
गृहमन्त्रालयले सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा डीआईजी अन्जनीकुमार पोखरेललाई बढुवा सिफारिस गरेको छ। मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
सशस्त्र प्रहरीमा एआईजीको दुई दरबन्दी रहेकामा एक पद रिक्त थियो। हाल पोखरेल सशस्त्र प्रहरी बलको बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्। नारायणदत्त पौडेल प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि एआईजी पद खाली भएको थियो। त्यसैगरी, एसएसपी राजेन्द्र खड्कालाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ भने एसपी संजय भट्टराईलाई एसएसपीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।
कानुनतर्फका एसएसपी युवराज अर्याललाई पनि डीआईजीमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिले एआईजी बढुवाउपर चित्त नबुझे सात दिनभित्र उजुरी दिन सकिने जनाएको छ। युवराज अर्यालको बढुवा भने यसअघि नै विवादमा परेको थियो।
सशस्त्र प्रहरीको कानुन समूहमा १५ जनाको मात्र दरबन्दी रहे पनि अघिल्लो सरकारले डीआईजीको छुट्टै दरबन्दी सिर्जना गरेको थियो। तत्कालीन गृहमन्त्री रमेश लेखक नेतृत्वको सरकारले अर्याललाई बढुवा गर्नकै लागि दरबन्दी थपिएको आरोप लागेपछि उक्त निर्णय विवादित बनेको थियो। त्यसबेला बढुवा प्रक्रिया समेत अघि बढ्न सकेको थिएन।











प्रतिक्रिया