नीर शाहको कमला मिस साउनमा आउने


करिब एक दशकपछि निर्देशनमा फर्किएका ख्यातिप्राप्त अभिनेता, निर्देशक, गीतकार तथा निर्माता नीर शाहद्वारा पछिल्लोपटक निर्देशित फिल्म कमला मिस आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई गम्भीर मनोवैज्ञानिक भावमा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मको कथा रहस्यमय, संवेदनशील र मनोवैज्ञानिक पाटोस“ग जोडिएको संकेत गरेको छ।

मनोवैज्ञानिक कथामा आधारित फिल्ममा निर्देशक नीर शाह स्वयम्ले पनि अभिनय गरेका छन्। उनका साथमा रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायत कलाकारले अभिनय गरेका छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लद्वारा निर्मित फिल्ममा कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन्। नाटककार विजय मल्लको नाटकमा आधारित फिल्ममा पटकथा र संवाद नीर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका छन्।

फिल्ममा युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र शिवराम श्रेष्ठको छाया“कन रहेको छ।
शाहले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान, सेतो बाघ जस्ता फिल्म निर्देशन गरेका छन्।