कोरोना भाइरस, हन्ता भाइरसपछि अहिले इबोला भाइरसको महामारी देखिएको छ । अफ्रिकी देशहरू डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा अहिले इबोला भाइरसको महामारी फैलिएको अवस्था छ । हाल अफ्रिकामा यो भाइरस देखा परे पनि यसले विश्वलाई चिन्तित बनाएको छ ।
इबोला भाइरसको प्रकोप बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई ग्लोबल हेल्थ इमरजेन्सीसमेत घोषित गरेको छ । अहिलेसम्म २४६ जना सन्दिग्ध सङ्क्रमित देखिएका र ८७ जनाभन्दा बढी व्यक्तिको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी सङ्कटको मापदण्ड चाहिँ पूरा नगरेको जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले बताए–‘सङ्क्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको छ ।’
इबोलाको अहिलेको स्ट्रेन बुन्डीबुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्ल्यूएचओ त्यसको औषधी वा खोप नरहेको उल्लेख गरेको छ । उक्त भाइरस कंगोबाहिर फैलिसकेको छ । छिमेकी देश युगान्डामा पनि २ जनामा इबोला भाइरस संक्रमण भएको पुष्टि गरिएको छ ।
इबोला के हो ?
इबोला जंगली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने गर्दछ । त्यसपछि यो भाइरस मानिसबाट मानिसमा सर्ने गर्छ । यसको सुरुको लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुने गर्दछ । त्यसपछि वान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तश्राव पनि हुने गर्दछ । यो भाइरस सङ्क्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय दुईदेखि २१ दिनसम्म हुन्छ ।
इबोला कसरी सर्छ ?
इबोला भाइरस संक्रमित वा इबोलाका कारण मरेका व्यक्तिका रगत वा जीउबाट निस्कने तरल पदार्थ (रगत, पसिना, ¥याल, उल्टी वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थ) सँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सर्ने गर्दछ । इबोलाका बिरामीहरूको जीउबाट निस्कने तरल पदार्थको सम्पर्कमा पुगेका वस्तुहरूबाट पनि यो सर्दछ ।

परम्परागत सामुदायिक अन्तिम संस्कारबाट महामारी फैलने अर्को माध्यम हो । किनभने समुदायका अधिकांश व्यक्तिले संक्रमण भएर मरेका व्यक्तिहरूका शरीरलाई छुने, पखाल्ने र चुम्बन गर्ने गर्छन् ।
के हो बुन्दीबुग्यो स्ट्रेन ?
इबोला भाइरसको केही प्रकार हुन्छन् । जसमा, बुन्दीबुग्यो स्ट्रेनलाई धेरै नै दुर्लभ मानिएको छ । यो स्ट्रेन पहिलोपटक युगान्डामा भेटिएको थियो । विज्ञका अनुसार यो भाइरस छिटै फैलिन सक्छ र यसको लक्षण गम्भीर हुने गर्दछ । यही कारण डब्ल्यूएचओले यसलाई हाई अलर्ट जारी गरेको छ ।
के हो यसको उपचार ?
हाल इबोलाको कुनै तरिकाको उपचार छैन । तर, सुरुआती उपचार र सही हेरचाहबाट इबोला संक्रमित व्यक्तिहरूको ज्यान बचाउन सकिन्छ । ती व्यक्तिहरूको शरीरमा पानीको कमी हुन दिनु हुँदैंन । संक्रमणलाई नियन्त्रण गर्न र आवश्यक औषधी दिनु उपचारको एक हिस्सा हुन् ।
कसरी सुरक्षित हुने ?
संक्रमित व्यक्ति छ भने उनीहरूसँग दूरी बनाइराख्ने ।
हात बारम्बार साबुन पानीले धुने, मास्क र ग्लोभ लगाउने ।
संक्रमित जनावरसँग सम्पर्कबाट बच्ने । .
भीडभाडमा नजाने, लक्षण देखिएमा तुरुन्तै उपचार गराउने ।











प्रतिक्रिया