फुटबल मैदानमा बललाई आफ्नो इसारामा नचाउने ‘बेन्ड इट लाइक बेकहम’ स्टार डेभिड बेकहमले अहिले व्यापारको मैदानमा पनि एउटा यस्तो ‘फ्री–किक’ हानेका छन्, जसले उनलाई बेलायती इतिहासकै पहिलो अर्बपति खेलाडी (बिलिनियर एथ्लिट) बनाएको छ । हिजोसम्म विश्व खेलकुद र फेसनको दुनियाँमा राज गर्ने बेकहम र उनको परिवारको नाम अब डलर र पाउन्डको ठूलो चाङमा सबैभन्दा माथि चम्किन थालेको छ ।
हालै सार्वजनिक भएको ‘सन्डे टाइम्स रिच लिस्ट २०२६’ अनुसार, हालसालै ५१ वर्ष पुगेका र गत नोभेम्बरमा मात्रै ‘सर’ को उच्च उपाधि (नाइटहुड) पाएका डेभिड बेकहम र उनकी श्रीमती भिक्टोरिया बेकहमको संयुक्त सम्पत्ति अचम्मलाग्दो १.१८५ अर्ब पाउन्ड पुगेको छ । खेलकुद क्षेत्रका धनाढ्यहरूको यो सूचीमा बेकहम परिवार दोस्रो स्थानमा छ । उनीहरूभन्दा अगाडि २ अर्ब पाउन्डसहित फर्मुला वानका पूर्व बोस बर्नी एभ्लस्टोनको परिवार मात्रै छ । तर, एभ्लस्टोन खेलाडी नभएर व्यावसायिक कार्यकारी भएकाले ‘पहिलो अर्बपति खेलाडी’ को ऐतिहासिक ताज भने बेकहमकै शिरमा सजिएको हो ।
फुटबलबाट सन्यास लिएको वर्षौँ भइसक्दा पनि बेकहमको ब्रान्ड भ्यालु कुनै कडा प्रहार गरिएको फुटबल जस्तै तीव्र गतिमा अघि बढिरहेको छ । अमेरिकी फुटबल क्लब ‘इन्टर मायमी’ को सह–स्वामित्व लिनु उनको गुरुयोजना साबित भयो । जुन अहिले मेजर लिग सकर (एमएलएस) कै सबैभन्दा महँगो क्लब बनेको छ । त्यसमाथि एडिडास र ह्युगो बोस जस्ता विश्वप्रसिद्ध ब्रान्डहरूसँगको मोटो सम्झौताले उनको बैंक ब्यालेन्समा पैसाको वर्षा गराइरहेको छ । यो वित्तीय साम्राज्य खडा गर्नुमा उनकी श्रीमती भिक्टोरिया बेकहमको भूमिका पनि पावर–फर्वार्ड जस्तै बलियो छ । कुनै समयकी चर्चित ‘स्पाइस गल्र्स’ पप गायिका भिक्टोरियाको आफ्नै फेसन लेबलले अचेल विश्व बजारमा तहल्का मच्चाउँदै यो परिवारको सम्पत्तिलाई नयाँ उचाइमा पु¥याइरहेको छ ।
यस सूचीमा खेलकुदका अन्य हस्तीहरू बेकहमभन्दा निकै पछि परेका देखिन्छन् । जस्तै, भर्खरै लगातार दोस्रो पटक मास्टर्स च्याम्पियन बनेका गल्फर रोरी म्याकइल्रोय ३२ करोड ५० लाख पाउन्डसहित सातौँ स्थानमा छन् । फर्मुला वानका लिजेन्ड सर लुइस ह्यामिल्टन ४३ करोड ५० लाख पाउन्डका साथ पाँचौँ स्थानमा रहँदा, बेलायती फुटबल कप्तान ह्यारी केन र टेनिस स्टार सर एन्डी मरे भने ११ करोड पाउन्डसहित संयुक्त रूपमा १०औँ स्थानमा चित्त बुझाउन बाध्य छन् । त्यस्तै, बक्सिङ क्षेत्रबाट प्रवद्र्धक ब्यारी र एडी हर्नको बुबा–छोराको जोडी पनि १.०३५ अर्ब पाउन्डसहित अर्बपति क्लबमा नयाँ इन्ट्री मार्न सफल भएका छन् भने रिंगका बादशाहहरू एन्थोनी जोशुआ २४ करोड पाउन्डसहित आठौँ र टाइसन फ्युरी १६ करोड २० लाख पाउन्डका साथ नवौँ स्थानमा छन् ।
यसपटकको धनाढ्य सूचीमा केही ठूला उतारचढाव पनि देखिए । जहाँ म्यानचेस्टर युनाइटेडका सह–मालिक सर जिम ¥याटक्लिफको सम्पत्तिमा १.८५ अर्ब पाउन्डको ठूलो गिरावट आउँदा उनी समग्र धनाढ्यको सूचीमा सातौँबाट नवौँ स्थानमा झरेका छन् । तर, जे होस्, हिजो फुटबल मैदानमा आफ्नो जादुमयी खेलले संसारभरका करोडौँ प्रशंसकको मन जितेका डेभिड बेकहमले आज व्यापारिक मैदानमा पनि आफूलाई ‘अब्बल खेलाडी’ साबित गर्दै बेलायती खेलकुदको इतिहासमा आफ्नो नाम थप चम्किलो बनाएका छन् ।











प्रतिक्रिया