काठमाडौँ।
सशस्त्र प्रहरीले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा सञ्चालन भइरहेको नक्कली ब्राण्डेड मदिरा उत्पादन केन्द्रमा छापा मार्दै चार जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको इण्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा गरिएको कारबाहीका क्रममा स्थानीय बिर्खबहादुर तामाङको घरमा अवैध रूपमा रेड लेबल, ब्ल्याक लेबल लगायतका महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन भइरहेको फेला परेको हो ।
पक्राउ पर्नेहरूमा मनोज खत्री, विनोद तामाङ, विवेक तामाङ तथा छिदेन निमा तामाङ रहेका छन् । उनीहरूलाई नक्कली मदिरा उत्पादन तथा प्याकेजिङमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
छापामार कारबाहीका क्रममा ठूलो परिमाणमा विभिन्न ब्राण्डका नक्कली मदिरा, मदिरा उत्पादनमा प्रयोग हुने केमिकल, उपकरण, राजश्व स्टिकर तथा होलोग्राम समेत बरामद गरिएको छ । बरामद मदिराको परिमाण भने यकिन गर्न बाँकी रहेको जनाइएको छ ।

सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।











प्रतिक्रिया