अमेरिकी ‘साइफर’ चुहावटले पाकिस्तानमा तरंग : इमरान खान हटाउन वासिङ्टनको दबाब रहेको दाबी बलियो


काठमाडौं ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो सरकार गिराउन अमेरिकाले विदेशी षड्यन्त्र गरेको भन्दै लामो समयदेखि गर्दै आएको दाबीलाई बल पुग्ने गरी एक गोप्य कूटनीतिक दस्ताबेज सार्वजनिक भएको छ।

अमेरिकास्थित खोजमूलक सञ्चारमाध्यम ड्रप साइट न्युजले ‘साइफर’ भनिने वर्गीकृत कूटनीतिक दस्ताबेज सार्वजनिक गरेपछि पाकिस्तानको राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ तरंग सिर्जना भएको हो।

सार्वजनिक दस्ताबेजमा सन् २०२२ मार्च ७ मा अमेरिकाका लागि तत्कालीन पाकिस्तानी राजदूत असद मजिद खान र अमेरिकी विदेश मन्त्रालयका अधिकारी डोनाल्ड लुबीच भएको गोप्य संवादको विस्तृत विवरण समेटिएको बताइएको छ।

दस्ताबेजअनुसार अमेरिकी पक्षले इमरान खानको रुस–युक्रेन युद्धप्रतिको “आक्रामक तटस्थता” र रुस भ्रमणप्रति असन्तुष्टि जनाएको थियो। कुराकानीका क्रममा खानविरुद्धको अविश्वास प्रस्ताव सफल भएमा वासिङ्टनले पाकिस्तानसँग सम्बन्ध सुधार्न सक्ने, तर उनी सत्तामै रहे “गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनी दिइएको दाबी गरिएको छ।

रिपोर्टमा अमेरिकाले पाकिस्तानको स्वतन्त्र परराष्ट्र नीति, चीन र रुससँगको बढ्दो निकटता तथा अफगानिस्तानमा अमेरिकी सैन्य आधार प्रयोग गर्न नदिने खानको अडानप्रति असन्तुष्टि राखेको उल्लेख गरिएको छ।

त्यस्तै, पाकिस्तानी सेना पनि इमरान खानको विदेश नीतिप्रति असन्तुष्ट बन्दै गएको दाबी गरिएको छ। रिपोर्टअनुसार सेनाले पाकिस्तान अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने निष्कर्ष निकाल्दै सन् २०२१ मै अमेरिकामा गोप्य लबिइङ सुरु गरेको थियो।

अन्ततः सन् २०२२ अप्रिल ९ मा संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि ७३ वर्षीय इमरान खान सत्ताबाट बाहिरिएका थिए। त्यसपछि बनेको सरकारलाई सैन्य–समर्थित भन्दै आलोचना हुँदै आएको छ।

दस्ताबेजमा खान हटेपछि पाकिस्तानले अमेरिकी रणनीतिक हितअनुसार काम गर्दै युक्रेन युद्धका लागि तेस्रो पक्षमार्फत गोलाबारुद आपूर्ति गरेको र त्यसको बदलामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट आर्थिक सहायता प्राप्त गरेको दाबीसमेत गरिएको छ।

यसअघि संयुक्त राज्य अमेरिकाले इमरान खानको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको थियो। हाल इमरान खान र उनकी पत्नी बुशरा बीबी विभिन्न भ्रष्टाचार तथा राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा जेलमा रहेका छन् भने उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफलाई २०२४ को चुनावमा राजनीतिक रूपमा कमजोर बनाइएको आरोप लाग्दै आएको छ।

यो ‘साइफर’ चुहावटपछि पाकिस्तानमा सेना, विदेशी शक्ति र आन्तरिक राजनीतिबीचको सम्बन्धलाई लिएर फेरि गम्भीर बहस सुरु भएको छ।