घुर्मी–चतरा सुनकोशी करिडोर निर्माणमा इन्धनको मुल्यवृद्धिले प्रभावित

0
Shares

उदयपुर ।

अन्तराष्ट्रिय बजारमा पेट्रोल र डिजेलको निरन्तर मूल्यवृद्धिले निर्माणाधीन घुर्मी–चतरा सुनकोशी करिडोर सडकको काम प्रभावित बन्न थालेको छ । पूर्वीनेपालको पहाडी र तराई भूभागलाई जोड्ने रणनीतिक महत्वको यो सडक निर्माण तीव्र पार्ने प्रयास भइरहेका वेला बढ्दो इन्धन खर्चले काममा पुनः अवरोध सिर्जना हुने संकेत देखिएको हो ।

उदयपुरको कटारी नगरपालिका– १४ स्थित घुर्मीदेखि सुनसरीको चतराघाटसम्म जोडिने करिब १७० किलोमिटर लामो यो सडकको ट्रयाक खोल्ने र चौडा बनाउने काम वर्षौँअघि सुरु भएको थियो । मध्यपहाडी लोकमार्गसँग जोडिने सुनकोशी करिडोरका रूपमा परिचित यो सडकले उदयपुरसहित ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको यातायात पहुँचमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

तर, निर्माण सुरु भएदेखि नै विभिन्न अवरोध झेल्दै आएको यो आयोजना अहिले फेरि इन्धन मूल्यवृद्धिको असरमा परेको छ । चालू आर्थिक वर्षमा संघीय सरकारले १० करोड रुपैयाँ विनियोजन गरी ट्रयाक खोल्ने काम अघि बढाएको भए पनि निर्माण व्यवसायीहरूले लागत अस्वाभाविक रूपमा बढेको भन्दै मूल्य समायोजनको माग गर्दै आएका छन् ।

सुनकोशी करिडोर सडक हेर्ने सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगाका साइड इन्चार्ज इन्जिनियर सतिशकुमार साहका अनुसार हाल दुई प्याकेजमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । निर्माण कम्पनीहरूले इन्धनलगायत निर्माण सामग्रीको लागत बढेको भन्दै मूल्य समायोजनका लागि निवेदन दिएको उनले बताए ।

‘निर्माण व्यवसायीले मूल्यवृद्धिको असर परेको भन्दै निवेदन दिएका छन् । हामीले त्यसलाई सडक विभागमा पठाइसकेका छौँ,’ इन्जिनियर साहले भने, ‘यो सडक मध्यमपहाडी सडक आयोजना कार्यालयबाट हस्तान्तरण भएको आयोजना हो । चालू आर्थिक वर्षमा १० करोडको बजेटबाट काम अघि बढाइरहेका छौँ ।’

कार्यालयका अनुसार घुर्मी–भालुखोला खण्डको सात किलोमिटर सडक निर्माणको जिम्मा अजय लामा जेभी, सिराहाले चार करोड २२ लाख रुपैयाँमा लिएको छ । आउँदो असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम सुरु गरिएको छ । त्यसैगरी भालुखोला–आम्बोटे खण्डको सात किलोमिटर सडक ट्रयाक खोल्ने तथा चौडा बनाउने जिम्मा डिसिडिआर जेभी, उदयपुरले दुई करोड ८३ लाख रुपैयाँमा लिएको छ ।

डिसिडिआर जेभीका प्रतिनिधि जीवन कार्कीका अनुसार हालको मूल्यवृद्धिले लागत अनुमानभन्दा धेरै खर्च बढाएको छ । ‘ठेक्का सम्झौता हुँदा डिजेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ थियो । अहिले त्यो २३५ रुपैयाँ पुगेको छ । अहिलेको बजारमूल्यमा ठुलो अन्तर परिसकेको छ,’ उनले भने, ‘सरकारले मूल्य समायोजन वा समय थपसम्बन्धी स्पष्ट नीति नलिए यथास्थितिमा योजना सम्पन्न गर्न कठिन हुन्छ । यसपालिको लक्ष्यसमेत प्रभावित हुन सक्छ ।’

घुर्मी–चतरा सुनकोशी करिडोर सडक उदयपुरको सुनकोशी नदीकिनार हुँदै कटारी नगरपालिकाको घुर्मी–सोरुङ छबिसे, ताप्ली गाउँपालिकाको कुमालटार, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका हुँदै बेलका नगरपालिकाको चतराघाटसम्म पुग्नेछ ।

सडक निर्माण सम्पन्न भएपछि कोशी प्रदेशका दुर्गम पहाडी क्षेत्रको यातायात पहुँचमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको छ । ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले ट्रयाक खोल्ने काम पटक–पटक रोकिँदा स्थानीयमा निराशा बढेको बताए ।

‘अहिले घुर्मी–कुमालटारखण्डमा दुई प्याकेजमा काम भइरहेको छ । यो खण्ड सम्पन्न भए कुमालटार–घुर्मी सडक सञ्चालनमा आउँछ,’ उनले भने ।

उनका अनुसार कुमालटारदेखि चतरासम्मको खण्डलाई पनि संघीय सरकारले प्राथमिकतामा राखे उदयपुरको उत्तरी क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुग्नेछ ।

‘चतराबाट मदन भण्डारी लोकमार्ग हुँदै काठमाडौं जाने यात्रुका लागि पनि सुनकोशी करिडोर हुँदै घुर्मी पुग्न छोटो र सहज मार्ग बन्न सक्छ,’ उनले थपे, ‘यसले ओखलढुंगा, सोलुखुम्बु र खोटाङको पश्चिम क्षेत्रलाई प्रदेश राजधानी विराटनगरसँग जोड्नसमेत सहज बनाउँछ ।’

सुनकोशी करिडोर सडकको निर्माण २०६७ सालबाट सुरु भएको थियो । पटक–पटक अवरोध र विवादका कारण रोकिँदै आएको यो योजना यसपालि पनि मूल्यवृद्धिका कारण प्रभावित हुने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् ।

ताप्ली गाउँपालिकाका स्थानीय अगुवा गुरु पोखरेलले ताप्लीको कुमालटारसम्म जोडिने सडक निर्माण नरोकियोस् भन्ने कामना व्यक्त गरे । ‘कुमालटारबाट काठमाडौंसम्म सवारीसाधन सञ्चालन हुँदा कटारी बजार र गाईघाट बजार पुग्नुपर्ने बाध्यता हट्छ,’ उनले भने ।