शैक्षिक अवस्था सुधार्न शिक्षकलाई झोला, डायरी र कलम

0
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षकलाई नै केन्द्रमा राखेर नयाँ अभ्यास सुरु गरेको छ ।

नगरपालिकाले नगरभित्रका ४५ वटा सामुदायिक विद्यालयमा कार्यरत ४ सय ५९ जना शिक्षक तथा कर्मचारीलाई झोला, डायरी र डटपेन वितरण गरेको हो ।

“गुणस्तरीय शिक्षा हाम्रो अभियान, शैक्षिक सामग्री सहित बालबालिकाको उज्यालो भविष्य निर्माण” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा वितरण गरिएको झोलामा “शिक्षकको सिर्जनशीलता, विद्यार्थीको सफलता” भन्ने सन्देश पनि समेटिएको छ ।
नगर शिक्षा शाखाका अनुसार स्थायी, अस्थायी, करार, राहत, संघीय अनुदान तथा स्वयंसेवक शिक्षकसँगै विद्यालयका लेखा कर्मचारीसम्मलाई समेटेर सामग्री वितरण गरिएको हो । शिक्षाको गुणस्तर सुधार केवल नीतिगत निर्णयले मात्र सम्भव नहुने भन्दै कक्षा कोठामा प्रत्यक्ष खटिने शिक्षकको मनोबल बढाउन यो कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्ला वर्षमा सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्दै गएको सन्दर्भमा शिक्षकलाई थप जिम्मेवार र उत्प्रेरित बनाउन यस्तो अभियान अघि सारिएको बताइएको छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्दै सामुदायिक विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य रहेको नगरपालिकाको भनाइ छ ।

नगर प्रमुख कालुमान लामाका अनुसार सामुदायिक विद्यालयका नतिजामा सुधार देखिन थालेको र त्यसलाई निरन्तरता दिन शिक्षकलाई प्रोत्साहन आवश्यक रहेको छ । उहाँले शिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य भए अझ राम्रो शैक्षिक परिणाम हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा सहभागी शिक्षकहरूले स्थानीय सरकारले पहिलो पटक प्रत्यक्ष रूपमा शिक्षकलाई लक्षित गरेर कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गरेका छन् । शिक्षकहरूको भनाइमा यस्तो प्रोत्साहनले कामप्रतिको जिम्मेवारी र उत्साह बढाउनेछ ।
नगर शिक्षा शाखाका अनुसार आगामी चरणमा निजी स्रोतका शिक्षकलाई समेत समेट्ने तयारी भइरहेको छ । उनीहरूलाई पनि प्रोत्साहन कार्यक्रममार्फत समावेश गर्ने योजना रहेको जनाइएको छ ।

शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार, प्रविधि र नीतिगत सुधारसँगै शिक्षकको मनोबल बढाउने यो अभ्यासलाई जिल्लामै नौलो र सकारात्मक पहलका रूपमा हेरिएको छ ।