नागार्जुनमा औषधिसहित हनुमानको आगमन !

376
Shares

झन्डै ७ दशकअघिको कुरा हुनुपर्छ । तत्कालीन दरबार हाइस्कुलका प्रधानाध्यापक रुद्रराज पाण्डेका घरमा दुईजना महात्मा ल्याइएका थिए । तीमध्ये रामस्नेही बाबा सरदार रुद्रराज पाण्डेका समेत गुरु थिए । रामस्नेही बाबाको प्रताप फैलिएपछि काठमाडौँमा उनको नाम नसुन्ने कोही थिएन । राजा महेन्द्रसमेत बाबालाई भेट्न र आशिर्वाद लिन रुद्रराजको घरमा सवारी हुन्थ्यो । नेपालका प्रथम प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले रामस्नेही र गोपाल बाबाको बारेमा एउटा सानो पुस्तिका नै छपाएको कुरा नेपालमा वाणिज्य र व्यवस्थापन शिक्षाका संस्थापक प्रा. ईश्वरीलाल श्रेष्ठले आफ्नो पुस्तक ‘प्रोफेसर ईश्वरीको जीवनी’ मा उल्लेख गर्नुभएको छ ।

प्रो. ईश्वरीलालका अनुसार रामस्नेही बाबाको खुट्टा धेरै नै दुख्न थाल्यो । मालिस र वैद्यको औषधिले ठीक भएन । बाबाले भने, ‘म यहाँ बस्दिन, नागार्जुन जङ्गगलमा लगेर राखिदेओ ।’ राजा महेन्द्रबाट नागार्जुन दरबारमा लगेर राख्ने आदेश भयो तर उनले दरबारमा बस्न अस्वीकार गरे । त्यसैले दरबारनजिकै सानो छाप्रो निर्माण गरी बाबालाई राखियो ।

प्रो. ईश्वरीलालले आफ्नो पुस्तकमा लेख्नुभएको छ, ‘एकदिन म रुद्रराजका छोरा माधवसँग बाबालाई भेट्न नागार्जुन गएँ । उहाँको खुट्टा दुख्न अझै बिसेक नभएको हामीले सुनेका थियौँ । त्यसैले हामीले ‘स्यारिडन’ नामको पेनकिलर लिएर गएका थियौँ । बाबाले पेनकिलर खान मान्नुभएन, बरु हनुमानजीको पूजा गर्न सामग्री तयार पार्न भन्नुभयो ।’

प्रो. ईश्वरीलालका अनुसार त्यस समयमा रामस्नेही बाबाले कुटीनजिकैको ठूलो ढुङ्गा सफा गर्न लगाई हनुमानको पूजा गरे । पूजा सकेर आराम गर्न कुटीभित्र प्रवेश गरे । पूजापछि हनुमान आएर आफ्नो पीडा नाश गर्ने विश्वास बाबाले ईश्वरीलाल र माधवलाई दिलाए । हनुमान कहाँबाट र कसरी प्रकट हुन्छन् भनेर ईश्वरीलाल र माधव दुवैजना प्रतीक्षा गरी आकाशतिर हेरिरहेका थिए ।
त्यो सुनसान जङ्गगलको परबाट एकजना टुपी राखेका अद्भूत युवक ब्राह्मण आउँदै गरेका देखिए । ती विचित्र ब्राह्मण नजिकै आइपुगेपछि ईश्वरीलाललाई सोधे, ‘यहाँ एकजना फकिर बाबाको खुट्टा दुखिरहेको छ भन्ने सुनेर यो गिलासमा कुशको रस लिएर आएको, उहाँ कता हुनुहुन्छ ?’

ती ब्राह्मणको कुरा ईश्वरीलालले बाबालाई बताएपछि बाबाले भित्र पठाउने अनुमति दिए । ‘उहाँले ती युवकसँग कुनै सवालजवाफ नगरी गिलास लिएर कुशको हरियो रस तुनतुन पिउनुभयो, ती विचित्रका युवक पनि आफ्नो बाटो लागे’, ईश्वरीलाल लेख्छन्, ‘ब्राह्मण बाहिरिएपछि बाबाले भन्नुभयो, ‘हनुमानजी आउनुभयो र मलाई औषधि खुवाएर जानुभयो, अब मेरो दुखाइ हराउँछ ।’
बाबाको कुराले प्रो. ईश्वरीलाल र माधव दुवैजना छक्क परे । बाहिर निस्किएर हेर्दा ब्राह्मण अलप भइसकेका थिए । यो घटनापछि रामस्नेही बाबाको खुट्टा दुख्ने रोग सदाका लागि निको भयो । पछि उनी शहरमै फर्किएर बसे । अन्त्यमा भारतमा गई इहलीला समाप्त गरे ।

यसरी रामस्नेही बाबाको उपचार गरी निको पार्ने अद्भूत ब्राह्मण हनुमान नै हुन् त ? उनले ल्याएको कुशको झोलले रामस्नेही बाबालाई कसरी निको भयो ? यो घटना रहस्यमय छ । यस उपचारलाई आधुनिक विज्ञानले प्रमाणित गर्न सक्दैन ।
उता सन् १९७७ मार्च महिनामा एक शोधग्रन्थ तयारीका सिलसिलामा बद्रीदेव पाण्डे भारतको जवलपुरमा रहनुभएका सरदार रुद्रराज पाण्डेलाई भेट्न जानुभयो ।

त्यस बेला सरदार रुद्रराज पाण्डे नर्वदा नदीको किनारमा अवस्थित रामस्नेही बाबाको आश्रममा रहनुभएको थियो । आफू त्यहाँ पुग्दा रामस्नेही बाबाको उमेर १६७ वर्ष भइसकेको थियो भनेर बद्रीदेव पाण्डेले आफ्नो पुस्तक ‘नमेटिएका पाइलाहरु’ मा उल्लेख गर्नुभएको छ । यसबाट स्पष्ट हुन्छ कि ब्राह्मणरुपी हनुमान आएर दिएको औषधिले गर्दा रामस्नेही बाबा १६७ वर्षभन्दा बढी नै बाँच्नुभयो ।

(लेखक घिमिरेको ‘धर्म–विज्ञान’बाट उद्धृत सम्पादित अंश)