हामीमा चेत कहिले जाग्ने : इतिहास जोगाउन नसक्ने समाजको पीडादायी कथा

940
Shares

राजनीतिशास्त्रका प्रारम्भिक व्याख्याता मानिने प्राचीन ग्रीक दार्शनिक सुकरातलाई राखिएको जेलसहित युरोपका सयौं वर्ष पुराना ऐतिहासिक संरचनाहरू आज पनि सुरक्षित छन् । युरोपमा अहिले पनि आन्दोलन, प्रदर्शन वा राजनीतिक उथलपुथल हुँदा ऐतिहासिक तथा सार्वजनिक सम्पदामाथि प्रायः आक्रमण गरिंदैन । विरोध सडकमा हुन्छ, नाराबाजी हुन्छ, कतिपय अवस्थामा तोडफोडसमेत हुन्छ,तर इतिहास बोकेका संरचनाहरू जोगाइन्छन् । किनकि उनीहरूलाई थाहा छ । इतिहास नष्ट गर्नु भनेको आफ्नै पहिचान मेटाउनु हो ।

तर हाम्रो अवस्था त्यसको ठीक उल्टो देखिन्छ । हामीले आफ्ना गौरवपूर्ण इतिहास, सभ्यता र सांस्कृतिक धरोहरहरूलाई या त बेवास्ता ग¥यौँ, या त आफ्नै हातले नष्ट ग¥यौं । परिणामतः आज हामीसँग कतिपय यस्ता ऐतिहासिक संरचनाको नाम त बाँकी छ, तर अस्तित्व छैन । 

लिच्छविकालीन स्वर्णिम युगमा निर्मित विश्वविख्यात ‘कैलाशकुट भवन’ यसको ज्वलन्त उदाहरण हो । छैटौँ शताब्दी आसपास बनेको भनिने यो दरबार तत्कालीन विश्वकै अनुपम वास्तुकलामध्ये एक मानिन्थ्यो । करिब ४०० वर्गफिट क्षेत्रफलमा फैलिएको, तीन खण्डमा विभाजित, प्रत्येक खण्डमा साततले बुर्जा भएको त्यो भवन बहुमूल्य धातु, रत्न, सुन, मूँगा र बहुमूल्य पत्थरहरूले सजिएको थियो । माथिल्लो तलामा एकैपटक १० हजार मानिस अट्ने विशाल सभाहल रहेको वर्णन पाइन्छ । बुर्जाका टुप्पाबाट झर्ने पानी सुनका मकरमुखबाट फोहराजस्तै निस्कने दृश्यले हेर्नेहरूको आँखालाई मन्त्रमुग्ध बनाउँथ्यो ।

चिनियाँ यात्री ह्रेनसाङले सातौँ शताब्दीमा विश्व भ्रमणपछि समेत त्यस्तो भवन संसारमा कतै नदेखेको उल्लेख गरेका थिए । तर विडम्बना ! आज त्यो दरबार कहाँ थियो भन्ने ठेगानासमेत निश्चित रूपमा पत्ता लाग्न सकेको छैन । हाम्रो लापरबाहीले इतिहासको त्यो अद्वितीय धरोहर अस्तित्वबाटै विलीन भयो । 

विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवस्था पनि कम पीडादायी छैन । करिब २६०० वर्षअघि जन्मेका बुद्धको जन्मस्थल लामो समयसम्म अन्योलमा रह्यो । अन्ततः १८औं शताब्दीको अन्त्यतिर बेलायती अनुसन्धानकर्ताहरूको सहयोगमा लुम्बिनी पत्ता लाग्यो । तर आजसम्म पनि भारतले त्यसलाई पूर्ण रूपमा स्वीकार नगरी आफ्नै भूमिमा ‘नक्कली लुम्बिनी’ निर्माण गरेर भ्रम फैलाउने प्रयास गरिरहेको छ । 

इतिहासमाथि आक्रमण बाहिरबाट मात्र भएन, भित्रबाट पनि भयो । १४औँ शताब्दीमा दिल्लीका सुल्तान समशुद्दिनले काठमाडौं उपत्यकामाथि गरेको आक्रमणले सात दिनसम्म यहाँका कैयौँ ऐतिहासिक सम्पदा ध्वस्त भए । आगजनी, लुटपाट र विध्वंसले हाम्रो सांस्कृतिक सम्पदामा ठूलो क्षति पु¥यायो । त्यसपछि बनेका संरचनाहरू पनि आन्तरिक द्वन्द्व,भारदारी संघर्ष र राजनीतिक अस्थिरताका कारण सुरक्षित रहन सकेनन् । दुःखको कुरा, त्यो विनाशको श्रृङ्खला आजसम्म रोकिएको छैन । 

आधुनिक नेपालको मध्यकालीन इतिहासमा राणा शासकहरूले युरोप भ्रमणपछि त्यहाँको वास्तुकलाबाट प्रभावित भएर नेपालमा भव्य संरचनाहरू निर्माण गरे । तीमध्ये सबैभन्दा चर्चित र ऐतिहासिक संरचना हो सिंहदरबार । 

वि.सं. १९६५ मा राणा प्रधानमन्त्री चन्द्र शमसेर जंगबहादुर राणाले निजी निवासका रूपमा निर्माण गराएको सिंहदरबार तत्कालीन एशियाकै सबैभन्दा ठूलो र आकर्षक प्रशासनिक भवन मानिन्थ्यो । पछि उनले नै करिब दुई करोड रुपैयाँमा सरकारलाई बेचेका थिए ।

सिंहदरबारको भव्यता साँच्चिकै अद्वितीय थियो । १७०० कोठा, आठवटा चोक, सिङ्गमरमरका भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर, बेल्जियमका ऐना, इटालियन सिङ्गमरमर, इङ्ग्ल्यान्डका रंगीन काँच, विशाल झुमर र भव्य ‘स्टेट हल’ ले सजिएको त्यो दरबार नेपालको गौरव थियो ।

तर हाम्रो नियति फेरि उस्तै बन्यो । वि.सं. २०३० साल असार २५ गते भएको भीषण आगलागीले सिंहदरबारको अधिकांश भाग ध्वस्त भयो । अगाडिको भाग बाहेक लगभग सबै जलेर नष्ट भयो । पछि पुनर्निर्माण हुँदा १७०० कोठाको सट्टा करिब ४०० कोठा र एउटा चोक मात्र बाँकी रह्यो । 

२०७२ सालको भूकम्पले फेरि त्यसलाई चिराचिरा बनायो । दशक लामो पुनर्निर्माणपछि बल्ल त्यसको पुनःस्थापना सम्पन्न भएको थियो । तर २०८२ भदौ २४ गतेको अर्को दुःखद घटनाले बाँकी रहेको ऐतिहासिक भागसमेत नष्ट गरिदियो । अब सुरुमा निर्माण भएको सिंहदरबारको वास्तविक स्वरूप लगभग समाप्त भएको मान्नुपर्ने अवस्था आएको छ ।

यी घटनाहरू केवल भवन नष्ट भएको कथा होइनन् । यी हाम्रो चेतनाको कमजोरीका प्रमाण हुन् । हामीले इतिहासलाई केवल किताबका पानामा सीमित ग¥यौँ, व्यवहारमा संरक्षण गर्न सकेनौँ । हामी विकासको नाममा पुराना संरचना भत्काउन तयार हुन्छौँ, तर तिनको ऐतिहासिक मूल्य बुझ्न चाहँदैनौँ । हामी आन्दोलनका बेला आफ्नै सम्पदा जलाउँछौँ, सडक चौडा बनाउने नाममा पुरातात्विक संरचना मास्छौँ, अनि पछि इतिहास हराएकोमा विलाप गर्छौं । 

सायद यही पीडाले इतिहासविद् बाबुराम आर्चायलाई ‘अब यस्तो कहिल्यै नहोस’ भन्ने भावसहित ऐतिहासिक पुस्तक लेख्न बाध्य बनाएको थियो । तर दुःखको कुरा, त्यो चेतावनी दिएको दशकौँ बितिसक्दा पनि हामी सुध्रिन सकेका छैनौँ । पीडामाथि पीडा थपिँदै गएको छ । 

इतिहास केवल विगत होइन, त्यो राष्ट्रको आत्मा हो । जसले आफ्नो इतिहास जोगाउन सक्दैन, उसले भविष्य पनि सुरक्षित बनाउन सक्दैन । 

आज आवश्यकता नयाँ भवन बनाउनेभन्दा पहिले पुराना धरोहर जोगाउने चेतनाको हो । हाम्रा पुस्ताले बनाएका सम्पदा भावी पुस्ताका लागि सुरक्षित राख्ने दायित्व हाम्रो हो । त्यसैले फेरि पनि भन्न मन लाग्छ, अब फेरि यस्तो कहिल्यै नहोस् । हाम्रो चेत बेलैमा जागोस् । इतिहास जोगाउने संस्कार विकसित होस् ।