तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न


काठमाडौँ
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड द्वारा आयोजना गरिएको तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ । क्विजको अन्तिम चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता बन्न सफल हुनुभएको छ भने इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता घोषित हुनुभएको छ ।

प्रतियोगिताका विजेताले जनही ६० हजार रुपैयाँ तथा उपविजेताले जनही ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको थियो । कन्ट्रि राउन्डमा क्लस्टर र सब क्लस्टर चरणबाट छनोट भएका १० टोलीका दुई–दुई जना गरी २० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका अवसरमा बैंकमा लामो समयदेखि सेवा गर्दै आउनुभएका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा सांग्रिला क्विजका विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के तथा रिकभरी तथा एनपिएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्रबहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

आम नागरिकको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर पालना गर्दै आएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।