रोहित–ईशानको शतकीय साझेदारीमा नेपालद्वारा स्कटल्याण्डविरुद्ध शानदार जित


काठमाडौं।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै साविक विजेतामाथि बदला लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १९५ रनको लक्ष्य ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा कप्तान रोहित पौडेल र डा. ईशान पाण्डेबीच १०४ रनको अटुट साझेदारी निर्णायक रह्यो। रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। यसअघि आसिफ शेख २९ र कुशल भुर्तेल २८ ले पनि टोलीलाई सहज जितको जग बनाइदिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ३९ bzdnj १ ओभरमा १९४ रनमा अलआउट भयो। उसका लागि ब्रेन्डन म्याकमुलेनले ७७ र माइकल इंग्लिसले ५१ रन बनाए। नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १–१ विकेट लिए।

यसै खेलमा लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाए। उनले ७३ म्याचमा यो उपलब्धि हासिल गर्दै अष्ट्रेलियाका मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए।

पछिल्लो खेलमा २ रनले हारेको नेपालले आज शानदार प्रदर्शन गर्दै स्कटल्याण्डमाथि बदला लिन सफल भयो। यस जितसँगै नेपालले लिग–२ मा महत्वपूर्ण दुई अंक जोडेको छ।