वीणा जोशीद्वारा लिखित नेवा: समुदायको परम्परागत मुकुण्डोनाच पुस्तक लोकार्पण


 काठमाडौं।

नेपालको परम्परागत नृत्य संस्कृतिको संरक्षण र अनुसन्धानमा जीवन समर्पित गर्नुभएकी नृत्यकलाविद् वीणा जोशी (राजभण्डारी) लेख्नुभएको नेवा: समुदायका परम्परागत मुकुण्डोनाच सार्वजनिक भएको छ।

झन्डै १५ पृष्ठको सो ग्रन्थ तयार ८१ वर्षीया जोशीलाई ५० वर्ष लागेको थियो।जोशीले २०२६ सालतिर सो ग्रन्थ लेखनका लागि अध्ययन शुरु गर्नुभएको थियो।१७ खण्डमा विभाजित उक्त ग्रन्थमा नेवार समुदायका परम्परागत मुकुण्डोनाच, चर्या नृत्य, कार्तिक नाच, गथु प्याखँ, देवी नाच, महाकालीनाच, नीलवाराही नाच, भैरवनाच, श्वेतकालीनाच, सिकाली प्याखँ, आकाश भैरव नाच, लाखम नाचदेखि भक्तपुर, बागलुङ, बेनी र कुस्माका हनुमान नाचसम्मका विविध सांस्कृतिक नृत्य परम्पराको विस्तृत अध्ययन समेटिएको छ।संस्कृति शिरोमणि हरिराम जोशीको भनाईमा सो पुस्तकमा परम्परागत मुकुन्डोनाचको नाचबारे बृहत शल्यक्रिया गरिएको छ।

यल नेवा: समाजले राजधानीमा आयोेजना गरेको एक समारोहकाबीच सो पुस्तक लोकार्पण गरिएको हो।सो ग्रन्थ लेखककी सय वर्षीया आमा गङ्गादेवी राजभण्डारी सहित उपत्यकाका विभिन्न जातीय तथा परम्परागत नृत्य परम्पराका १५ जना गुरुहरूले सो पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

ङ्यत भुलु अजिमाका मूलगुरु देवकृष्ण महर्जन, किलागल देवीनाचका मूलगुरु ब्रम्हु महर्जन, सिकाली प्याखँका मूलगुरु महन्तलाल डंगोल, जल प्याखँका मूलगुरु धनबहादुर महर्जन, कीर्तिपुर इन्द्रायणी देवी प्याखँका मूलगुरु बेखालाल माली, ठेच्व इन्द्रायणी देवी नाचका मूलगुरु धर्मराज माली, काठमाडौं गथु प्याखँका नृत्यगुरु सूर्यनारायण मालाकार, ललितपुर कार्तिक नाचका परम्परागत गुरु प्रतापधर शर्मा, संस्कृत शिरोमणि हरिराम जोशी, चर्या संगीतविद् यज्ञमानपति बज्राचार्य, चर्या नृत्यगुरु पदमराज बज्राचार्य, हेमबज्र बज्राचार्यले पुस्तकको लोकार्पण गर्नुभयो।

सो अवसरमा लेखक वीणा जोशीले शुरुमा नेपालका सबै जातजातिका नृत्य परम्पराको अध्ययन गर्ने सोच रहेको उल्लेख गर्दै समय र परिस्थितिका कारण आफ्नो अनुसन्धान नेवा: समुदायको मुकुण्डोनाचमा केन्द्रीत गरेको बताउनुभयो।उहाँले पृथ्वीनारायण शाह काठमाडौं उपत्यकामा विजयपछि नृत्य परम्परामा नयाँ आयाम थपिएको उल्लेख गर्दै २०१६ सालपछि मात्र युवतीहरूलाई नृत्यमा सहभागी गराउन थालिएको बताउनुभयो।

उहाँले नेवा: समुदायको नृत्य परम्परा केवल मनोरञ्जन नभई सभ्यता, आस्था, मिथक, धर्म र सामुदायिक जीवनको जीवित सांस्कृतिक दस्तावेज भएको उल्लेख गर्नुभयो।‘उपत्यका देवदेवीहरू रमाउने रंगशाला हो।’ उहाँले नृत्यभित्र नेपालको सांस्कृतिक गौरव र ऐतिहासिक चेतना समेटिएको धारणा व्यक्त गर्दै भन्नुभयो।

जोशीले नृत्य केवल शारीरिक अभ्यास मात्र नभई मानसिक व्यायाम पनि भएको उल्लेख गर्दै आफ्ना ६ वर्षे नातिनातिनाले पुस्तक नलेखिए यी सम्पदा हराउन सक्छन् भनेपछि आफू थप प्रेरित भएको बताउनुभयो। शिक्षित युवा पुस्ताले संस्कृति संरक्षणमा अनुसन्धानमा सक्रिय हुनुपर्नेमा पनि लेखक जोशीले जोड दिनुभयो।

सो अवसरमा संस्कृतिविद् हरिराम जोशी, चर्या नृत्यविद् यज्ञमानपति बज्राचार्य तथा प्रा. डा. धुव्रचन्द्र रेग्मी लगायतले लेखकको लगनशीलता, नृत्यकलाको ऐतिहासिक,सामाजिक पक्षमाथिको गहन अध्ययन र अनुसन्धानात्मक योगदानमाथि केन्द्रीत गर्दै आ आफ्नो भनाई राख्नुभयो।

कार्यक्रममा प्रतिष्ठित वाद्यवादक टोलीसहित कलाकारहरूले आर्यावलोकितेश्वर तथा बज्रयोगिनी चर्या नृत्य, भैल प्याखँ र नागाचा प्याखँ प्रस्तुत गरिएको थियो।आधुनिक रंगमञ्च नाचकी गुरु रमा मास्के राजवाहक तथा दाप्चा तल्लो हदियाका नाचगुरु रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।समारोहमा नेवा: समुदायको लोपोन्मुख मुहाली बाजाको मधुर धुनबाट शुरु गरिएको थियो।