सुरथले जिते कांस्य पदक


काठमाडौं।

स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मुलका तेक्वान्दो खेलाडी सुरथ लामाले वर्ल्ड तेक्वान्दो प्रेसिडेन्ट कप जि ३– २०२६ मा कांस्य पदक जितेका छन् । सुरथले मे ३ मा सम्पन्न प्रतियोगिताको अन्डर–६० पुरुष विधामा टिम जीबीआरको तर्फबाट व्यक्तिगत पदक जितेका हुन् ।

प्रतियोगितामा पदक जितेपछि सुरथले खुसी व्यक्त गर्दै भने, “प्रेसिडेन्ट कप जि ३ प्रतियोगिता निकै प्रतिष्ठित उपाधि हो र म अत्यन्त खुशी छु ।”
सुरथले सन् १९८६ मा दिल्लीबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए । नेपालमा २०१५ को भूकम्पपछि उनी जुलाई २०१५ मा बेलायत पुगेका थिए । हाल उनी स्कटल्यान्डस्थित पर्थ एण्ड किनरोस काउन्सिलमा कार्यरत रहँदै तेक्वान्दो खेललाई निरन्तरता दिइरहेका छन् ।

२०२२ र २०२३ मा स्कटिश नेशनल च्याम्पियन बनेका उनी २०२३ र २०२४ मा स्कटिश ओपन च्याम्पियन बन्न सफल भएका थिए ।
त्यसैगरी उनले २०२३, २०२४ र २०२५ मा रिजनल च्याम्पियनको उपाधि जितेका थिए भने २०२३ मा लेन्काशायर ओपनमा पनि च्याम्पियन बनेका थिए ।
सुरथले २०२४ र २०२५ मा नटिंगममा आयोजित ब्रिटिश नेशनल प्रतियोगितामा पनि तेक्वान्दो पुम्से अन्डर–६० पुरुष विधामा सहभागिता जनाएका थिए ।