काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलरहरू सन्दीप लामिछाने, करण केसी र सोमपाल कामी आजको खेलमा रेकर्डतिर अग्रसर हुनेछन् । सन्दीपले १ सय ५० विकेटमा पुगेर रेकर्ड राख्नेछन् भने सोमपाल १ सय विकेटको रेकर्डमा पुग्नेछन् ।
क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको खेलमा नेपालले आज स्कटल्यान्डविरुद्ध खेल्दैछ । जारी त्रिकोणात्मक सिरिजमा यो नेपाल र स्कटल्यान्डबीच दोस्रो भेट हुनेछ । पहिलो भेटमा नेपाल २ रनले पराजित भएको थियो ।
स्कटल्यान्डविरुद्ध सोमपाल र सन्दीपको बलिङमा मुख्यरुपमा नजर रहनेछ । यो खेलमा ५ विकेट लिन सकेमा सोमपाल ओडीआई करिअरमा १ सय विकेट लिने पहिलो नेपाली फास्ट बलर बन्नेछन् । गत मंगलबार भएको खेलमा सोमपालले स्कटल्यान्डविरुद्ध २ विकेट लिएर आफ्नो विकेटसंख्या ९५ मा पु¥याएका थिए ।
तर, सोमपालले भन्दा पहिले करण १ सय विकेट लिने पहिलो नेपाली फास्ट बलर बन्ने बढी संभावना छ । हाल उनले ९८ विकेट लिइसकेका छन् । यदि, आज प्लेइंग ११ मा परेमा उनले ओडीआई करिअरमा १ सय विकेट लिने रेकर्ड राख्ने संभावना हुनेछ । गत शनिबार अमेरिकाविरुद्धको खेलमा करणलाई ड्रप गरिएको थियो ।
सन्दीपको भने उनीहरूको रेकर्डभन्दा भिन्न हुनेछ । सन्दीपको लागि स्कटल्यान्डविरुद्धको खेलमा २ विकेट लिन सकेमा उनी ओडीआई करिअरमा १ सय ५० विकेटसंख्यामा पुग्नेछन् । यदि, यसो भएमा उनी १ सय ५० विकेट लिने पहिलो नेपाली बलर हुनेछन् भने कम खेलमा त्यतिसंख्यामा विकेट लिने विश्व रेकर्ड पनि बन्नेछ ।
हाल कम खेलमा १ सय ५० विकेट लिएको रेकर्ड अस्टे«लियाका लिजेन्ड फास्ट बलर मिचेल स्टार्कको नाममा छ । स्टार्कले २०१९ मा ७७ खेलमा १ सय ५० लिएर विश्व रेकर्ड राखेका थिए । यो रेकर्ड तोड्न सन्दीप निकै नजिक रहेका छन् । उनले अहिले ७२ खेलमा १ सय ४८ विकेट लिएका छन् ।











प्रतिक्रिया