धादिङका तीन विद्यालयमा नैतिक शिक्षा कार्यक्रम लागू

0
Shares

धादिङ ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको सहयोगमा धादिङका तीन विद्यालयमा विद्यालय तह नैतिक शिक्षा प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ ।

आधारभूत तह अन्तर्गत कक्षा ६, ७ र ८ मा नैतिक शिक्षा अध्यापन सुरु गरिएको बेनिघाटरोराङ गाउँपालिका–स्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको शंखादेवी माध्यमिक विद्यालय मझिमटार, आदर्श माध्यमिक विद्यालय गजुरी र जनकल्याण नमुना माध्यमिक विद्यालय मासटारमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशभर वैशाख २० गतेदेखि १९ नमुना विद्यालय र ५ आवासीय विद्यालयमा यो कार्यक्रम सुरु गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले प्रत्येक विद्यालयलाई दुई लाख रुपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ ।

नैतिक शिक्षा अन्तर्गत नैतिकता, मानव मूल्य र शिक्षा, नैतिक मूल्यमान्यता, नैतिकतामा आधारित संस्कार, नैतिक आचरण, सदाचार, सामाजिक मूल्य–मान्यता तथा पञ्चशीलका सिद्धान्तलगायत विषय अध्यापन गराइने विद्यालयले जनाएको छ ।

शंखादेवी माध्यमिक विद्यालयले सामाजिक तथा स्थानीय पाठ्यक्रम शिक्षक सुमन खनाललाई नैतिक शिक्षा शिक्षकका रूपमा नियुक्त गरी पठनपाठन सुरु गरिसकेको प्रधानाध्यापक चेपाङले बताउनुभयो ।

विद्यालय तहदेखि नै विद्यार्थीमा अनुशासन, सदाचार र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

१ सय घण्टा पठनपाठन हुँदा  २५ घण्टा प्रयोगात्मक शिक्षण हुने छ ।