बब डाईलाई पैसा गायकको गीत


निर्माणको अन्तिम चरणमा रहेको फिल्म बब डाईका लागि गायक कुशल पोखरेलको स्वरमा नया गीत तयार भएको छ। गीतको भिडियो छायांकन पनि सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियो भैसेपाटी क्षेत्रमा भिडियो खिचिएको हो। गीतमा शब्द स्वयं गायक पोखरेललकै रहेको छ भने संगीत बेश चर्चिल भुसालले तयार पारेका हुन्। मिक्सिङ र मास्टरिङ केपासले गरेका छन्। यसअघि पैसा बोलको गीतबाट चर्चा कमाएका कुशलले यस फिल्ममार्फत अभिनयमा पनि डेब्यु गर्दैछन्।

रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति तथा श्रीराम बालाजी फिल्म्स्को सहकार्यमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धरद्वारा निर्माणाधिन फिल्म कमेडी जनरामा आधारित छ। फिल्ममा सौगात मल्ल र सिम्रन पन्त मुख्य भूमिकामा छन् भने सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, बालकलाकार अग्रिम पण्डितलगायतका कलाकारले पनि अभिनय गरेका छन्। सौगातले शीर्ष पात्र बब डाईको भूमिका निर्वाह गरेका छन्। नेवारी टोनमा दाइलाई डाई भनिने भएकाले फिल्मको त्यसैबाट शीर्षक राखिएको निर्देशक प्रवीण श्रेष्ठले खुलाए।

मैनिषा गौचन र प्रवीण श्रेष्ठको कथा रहेको फिल्मको सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गरिरहेका छन्। श्याम तामाङको छायांकन रहेको फिल्ममा दिनेश बहादुर राउत एसोसिएट निर्देशक रहेका छन्। फिल्म २०८३ भित्रै प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।