व्रिट्नीलाई राहत


विश्व प्रसिद्व पप आइकन ब्रिट्नी स्पियर्सले आफुविरुद्ध दायर मदिरा तथा लागुऔषध सेवन गरी सवारी चलाएको मुद्यामा राहत पाएकी छन्।

केहि दिनअघि भेन्टुरा काउन्टी जिल्ला वकिलको कार्यालयले ४४ वर्षीया गायिकामाथि मदिरा र लागुऔषध दुवैको प्रभावमा सवारी चलाएको आरोप लगाएको थियो। यस मामलामा अदालतबाट राहत पाएपछि अब उनले मदिरा पिएर सवारी चलाएको अभियोगमा जेल सजाय भोग्नु नपर्ने भएको छ।

उनको वकिलले सोमबार अदालतमा उपस्थित भई कम गम्भीर प्रकृतिको कसुर अर्थात् लापरबाहीपूर्ण सवारी चालनमा दोषी स्वीकार गरेपछि उनले यो राहत पाएकी हुन्। त्यहाको सरकारी वकिलको कार्यालयका अनुसार स्पेयर्सको पुरानो कुनै आपराधिक रेकर्ड नभएको, सवारी दुर्घटना वा कसैलाई चोटपटक नलागेको र रगतमा मदिराको मात्रा पनि न्यून देखिएकाले उनलाई सामान्य अभियोग लगाइएको हो।

स्पेयर्सलाई मार्च ५ मा क्यालिफोर्नियामा अनियमित ढंगले सवारी चलाउदै गरेको अवस्थामा पक्राउ गरिएको थियो। प्रहरीलाई उद्र्धत गर्दै एजेन्सीले जनाएअनुसार उनले नशाको संकेत देखाएकी थिइन् र सो क्रममा उनीमाथि विभिन्न परीक्षण पनि गरिएको थियो। पक्राउ पर्दा उनी आफ्नै कालो बीएमडब्ल्यू ४३० आई कारमा एक्लै थिइन्। त्यसपछि उनलाई भेन्टुरा काउन्टी मेन जेलमा लगिएको थियो।

यस घटनापछि केही साताअघि मात्र स्पियर्स स्वेच्छाले पुनस्र्थापना (रिह्याब) केन्द्रमा भर्ना भएकी थिइन्। यदि स्पियर्सले लापरबाहीपूर्वक सवारी चलाएको कसुर स्वीकारेमा उनलाई १२ महिनासम्मको निगरानी अवधि दिइन सकिने व्यवस्था थियो। स्पेयर्स अब १२ महिनासम्म प्रोबेसनमा रहनुपर्नेछ भने उनले मदिरा पिएर सवारी चलाउनेका लागि सञ्चालन गरिने विशेष कक्षा लिनुका साथै जरिवाना शुल्क पनि तिर्नुपर्नेछ। घटनापछि उनका प्रतिनिधिले यसलाई दुर्भाग्यपूर्ण र अस्वीकार्य भन्दै टिप्पणी गरेका थिए ।

यस्तो घटना ब्रिट्नीका लागि पहिलो पटक भने होइन्। सन् २००७ मा पार्किङका क्रममा अर्को गाडीमा ठोक्काएर घटनास्थलबाट भागेको आरोप लागेपछि उनले क्षतिपूर्ति तिरेर मुद्दा टारेकी थिइन्।