सन्दीप अर्को रेकर्ड राख्न नजिक

0
Shares

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबारको खेलमा अमेरिकासँग खेल्दैछ । यो प्रतियोगिताअन्तर्गतको नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज हो ।

यो सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग २ रनको हार बेहोर्नु परेको छ । सो खेलमा नेपालको लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । यसको बावजुद नेपालको दुर्भाग्यपूर्ण हार भयो । तर, उनको लागि भने नयाँ रेकर्ड रच्ने अवसर बनेको छ ।

लेग स्पिनर सन्दीप ४ विकेट थपेसँगैं एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) करिअरमा १ सय ४७ विकेटसंख्यामा पुगेका छन् । उनका लागि १ सय ५० विकेट लिन ३ विकेटको आवश्यक छ । अमेरिकाको विरुद्धको खेलमा यदि यो उपलब्धि हासिल गरेमा उनको नाममा विश्व रेकर्ड बन्नेछ ।

हाल ओडीआईमा १ सय ५० विकेट कम खेलमा लिएको विश्व रेकर्ड अस्टे«लियाका फास्ट बलर मिचेल स्टार्कको नाममा छ । उनले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध १ सय ५० लिएको रेकर्ड राखेका थिए । त्यतिबेला उनले ७७ खेल खेलेका थिए ।

सन्दीपले ओडीआईमा ७१ खेल खेलेका छन् । उनको लागि मिचेलको विश्व रेकर्ड तोड्न अवसरै अवसर छ । उनले मिचेललाई पछि पार्न ५ खेलमा मात्र ३ विकेट लिन जरुरी रहेको छ । अहिले उनी घरेलु मैदान कीर्तिपुरमा ३ खेल खेल्दैछन् ।

अहिलेको फर्म हेर्दा सन्दीपले छिटै स्टार्कलाई पछि पारेर विश्व रेकर्ड आफ्नो नाममा पार्ने देखिन्छ । साथै उनी ओडीआईमा १ सय ५० विकेट लिने पहिलो नेपाली बलरसमेत बन्ने छन् ।

यसअघि २०२३ मा सन्दीप ४२ औं खेलमा १ सय विकेट लिएर ओडीआईमा कम खेलमा १ सय विकेट लिने बलर बनेका थिए । उनले ओमानविरुद्ध यो उपलब्धि हासिल गर्दै अफगानिस्तानका रशिद खानको रेकर्ड तोडेका थिए ।

२०१८ मा वेस्ट इन्डिजविरुद्धको खेलमा रशिदले स्टार्ककै रेकर्ड तोडेका थिए । रशिदले ४४ औं खेलमा १ सय विकेट पूरा गर्दा स्टार्कको विश्व रेकर्ड भंग भएको थियो । उनले कोलम्बोमा २०१६ मा भएको वानडे सिरिजमा ५२ बलमा १ सय विकेट लिएको रेकर्ड राखेका थिए ।

सन्दीप दुबै फरम्याटमा १५० निकट

–ओडीआईमा ७१ खेलमा १४७ विकेट

–टी २० आईमा ७४ खेलमा १३६ विकेट