काठमाडौं।
विश्व स्कोवास्सेथ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभामा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता आज राति जेनेभा प्रस्थान गर्ने भएकी छन् । यही सोमबारदेखि सुरु हुने महासभा १० जेठसम्म सञ्चालन हुनेछ ।
मन्त्री मेहतासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई जना सहसचिवस्तरका अधिकारी पनि महासभामा सहभागी हुनेछन् । मन्त्रालयका अनुसार समन्वय महाशाखा प्रमुख यशोधा अर्याल र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. रोशन न्यौपाने प्रतिनिधिमण्डलमा समावेश छन् ।
स्वास्थ्य मन्त्रीको सचिवालयका अनुसार महासभामा नेपालको सहभागिता यसपटक सीमित र व्यवस्थित बनाइएको छ । मन्त्रालयबाट तीन जना मात्रै जेनेभा प्रस्थान गर्ने व्यवस्था गरिएको छ भने बाँकी सदस्यहरू जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुनेछन् ।
जेनेभास्थित नेपालको स्थायी नियोगबाट महासभामा सहभागी हुने अधिकारीहरूमा राम प्रसाद सुवेदी, उपस्थायी प्रतिनिधि डमरु बल्लभ पौडेल, काउन्सिलर सुवाङ्ग पराजुली, प्रथम सचिव श्रीकृष्ण सिलवाल, प्रथम सचिव रोनल राई तथा द्वितीय सचिव सुजन लामिछाने रहेका छन् ।
यसपटकको महासभाले नेपाललाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ । मन्त्रालयका अधिकारीहरूले यसलाई नेपालको स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् । महासभाको नेतृत्व तहमा नेपालको उपस्थिति रहने भएपछि अन्तर्राष्ट्रिय स्वास्थ्य नीति निर्माण तथा बहुपक्षीय सहकार्यमा नेपालको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार विश्व स्वास्थ्य महासभा विश्व स्वास्थ्य नीतिसम्बन्धी सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्च भएकाले नेपालका लागि यो अवसर रणनीतिक दृष्टिले पनि महत्वपूर्ण रहेको छ । “नेपालले पछिल्ला वर्षहरूमा सार्वजनिक स्वास्थ्य, महामारी व्यवस्थापन र आधारभूत स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा गरेका प्रयासहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर पनि महासभाले प्रदान गर्नेछ,” ती अधिकारीले बताए ।
यसैबीच सरकारले यसपटक ‘छरितो प्रतिनिधिमण्डल’ पठाइएको दाबी गरेको छ । विगतमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा ठूलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने प्रवृत्तिको आलोचना भइरहेका बेला यसपटक सीमित सदस्यीय टोली मात्रै पठाइएको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको विवरणअनुसार कुल नौ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्रीसहित तीन जना मात्र जेनेभा गएका हुन् । बाँकी छ जना सदस्य जेनेभास्थित स्थायी नियोगमै कार्यरत कर्मचारीहरू रहेका छन् ।
सचिवालयले विदेशस्थित कूटनीतिक नियोगको उपलब्ध जनशक्तिलाई उपयोग गरेर अनावश्यक भ्रमण खर्च, दैनिक भत्ता तथा हवाई टिकट खर्च कटौती गरिएको जनाएको छ । यसलाई सरकारले मितव्ययी प्रशासनिक अभ्यासका रूपमा अघि सारेको दाबी पनि गरिएको छ ।
सरकारले पछिल्ला महिनाहरूमा वैदेशिक भ्रमणलाई व्यवस्थित र परिणाममुखी बनाउने नीति लिएको सन्दर्भमा यो भ्रमणलाई पनि त्यही नीतिको निरन्तरताका रूपमा हेरिएको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार प्रतिनिधिमण्डलमा विषयगत विज्ञहरूलाई प्राथमिकता दिइएको छ भने अनावश्यक सहभागिता घटाइएको छ ।
विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्य नीति, महामारी तयारी, स्वास्थ्य वित्त, औषधि पहुँच, जलवायु परिवर्तनको स्वास्थ्य क्षेत्रमा पर्ने प्रभावलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । नेपालले पनि आफ्ना प्राथमिकता र अनुभवहरू महासभामा प्रस्तुत गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया