हिन्दु सनातन धर्म र संस्कृतिमा समयको गणना अत्यन्तै वैज्ञानिक र सूक्ष्म मानिन्छ । जहाँ पञ्चाङ्ग सूर्य र चन्द्रमा दुवैको गतिमा आधारित छ । जसको एउटा अत्यन्तै महत्वपूर्ण र रोचक पक्ष अधिकमास हो । जसलाई जनजिब्रोमा मलमास र आध्यात्मिक भाषामा पुरुषोत्तम मास भनिन्छ । यस वर्ष यो विशेष समय जेठ महिनामा पर्दैछ । सामान्यतया सौर्य र चन्द्र वर्षको बीचमा वार्षिक रूपमा रहने ११ दिनको अन्तरलाई पूर्ति गर्न र ऋतुहरूको सन्तुलन मिलाउन हरेक ३२ महिना, १६ दिन र ४ घडीको अन्तरालमा एउटा अतिरिक्त महिना थपिन्छ । जसलाई हामी अधिकमास भन्छौँ । यो ज्योतिषीय सन्तुलन मिलाउने एक अद्भुत खगोलीय पद्धति हो । जसले हिन्दु धर्मावलम्बीको चाडपर्वहरूलाई निश्चित ऋतु र मौसममा कायम राख्न मद्दत गर्दछ ।
ज्योतिष शास्त्रका अनुसार जुन महिनामा सूर्यको संक्रान्ति हुँदैन, अर्थात् सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्दैन, त्यस महिनालाई ‘मलिन’ वा मलमास भनिन्छ । पौराणिक कथाअनुसार जब मलमास महिनाको कोही अधिपति देवता भएनन् र यसलाई ‘अशुभ’ मान्न थालियो, तब यो महिना भगवान्् विष्णुको शरणमा पुग्यो । भगवान्् विष्णुले यसलाई आफ्नो सर्वश्रेष्ठ नाम ‘पुरुषोत्तम’ प्रदान गरी आफैँ यसको स्वामी बनेको किंवदन्ती पाइन्छ । त्यसैले यसलाई पुरुषोत्तम मास भनिएको हो । सनातन धर्ममा यो महिना विशेष गरी भगवान्् नारायणको उपासना, भक्ति र आत्मिक शुद्धीकरणका लागि वर्षकै सबैभन्दा उत्कृष्ट समय मानिन्छ ।
शास्त्रीय मान्यताअनुसार कर्मलाई नित्य, नैमित्तिक र काम्य गरी तीन भागमा विभाजन गरिएको छ । जसको आधारमा यस महिनामा गरिने र नगरिने कार्यहरू निर्धारण हुन्छन् । नित्य कर्म भन्नाले दैनिक रूपमा गर्ने स्नान, सन्ध्यावन्दन, गायत्री जप र पितृ तर्पण जस्ता कार्यहरू बुझिन्छ । जुन मलमासमा पनि निरन्तर गरिन्छ । त्यस्तै, नैमित्तिक कर्मअन्तर्गत विशेष परिस्थितिमा अनिवार्य रूपमा गर्नुपर्ने कार्यहरू जस्तै जन्मिएका बालकको न्वारन वा मृत्यु भएका व्यक्तिको अन्त्येष्टि संस्कार पर्दछन् । जसलाई यो अवधिमा रोकिँदैन । तर, काम्य कर्म भन्नाले विशेष मनोकामना सिद्धिका लागि गरिने नयाँ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, नयाँ घरको शिलान्यास वा गृह प्रवेशलाई बुझिन्छ । जुन यस महिनामा वर्जित गरिएको छ ।
एउटै प्रकृतिको कर्म पनि अवस्था र पात्रअनुसार फरक ठहर्न सक्छ । उदाहरणका लागि, यदि कसैले दैनिक रूपमा पशुपतिनाथको दर्शन गर्छन् वा नियमित रूपमा रुद्राभिषेक र वेदपाठ गर्छन् भने ती नित्य कर्म हुन् र मलमासमा पनि जारी राख्न सकिन्छ । तर, तिनै कर्महरू कुनै विशेष कामना वा फल प्राप्तिको उद्देश्यले कुनै विशेष शुभ दिन पारेर पहिलोपटक सुरु गर्न लागिएको हो भने त्यसलाई काम्य कर्म मानिन्छ र यस्तो अवस्थामा मलमासमा गर्न मिल्दैन । यसको मूल अभिप्राय भनेको भौतिक सुख र नयाँ कार्यको आरम्भभन्दा पनि आध्यात्मिक शक्ति सञ्चय र आत्मचिन्तनमा ध्यान केन्द्रित गर्नु हो ।
हिन्दु धर्ममा अधिकमासको सम्बन्ध भगवान् विष्णुको नृसिंह अवतारसँग पनि गहिरोसँग जोडिएको छ । दैत्यराज हिरण्यकशिपुले वर्षका १२ महिनाभित्र मेरो मृत्यु नहोस् भन्ने वरदान पाएका थिए । दैत्यराजको अहंकार र अत्याचारको अन्त्य गर्न भगवान् विष्णुले १२ महिनाभन्दा बाहिरको १३ औँ महिना अर्थात् अधिकमासको सिर्जना गरी सोही अवधिमा नृसिंह रूप धारण गरेर हिरण्यकशिपुको वध गरेको पौराणिक कथा छ । यसले के सन्देश दिन्छ भने अधिकमास भगवान्को शक्ति र न्याय प्रकट हुने विशेष समय हो, जहाँ अधर्मको विनाश र धर्मको रक्षा हुन्छ ।
यस महिनाको धार्मिक र आध्यात्मिक महिमा अतुलनीय छ । शास्त्रहरूमा उल्लेख भएअनुसार मलमासमा गरिने भजन–कीर्तन, सत्संग र भगवान् नारायणको कथा श्रवणको फल अन्य समयको तुलनामा कैयौँ गुणा बढी हुन्छ । विशेष गरी ‘पुरुषोत्तम महात्म्य’ को पाठ र श्रवणले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यो समयमा गरिने दीपदान र विशेष गरी काँसको थालमा ३३ वटा मालपुवा राखेर गरिने दानको छुट्टै महत्व छ । जसले ३३ करोड देवताको आशीर्वाद प्राप्त हुने जनश्रुति छ । काठमाडौँको थानकोट नजिकै रहेको मत्स्यनारायण मन्दिरमा यस अवधिभर लाग्ने ठूलो मेलाले यस महिनाको धार्मिक महत्वलाई अझ प्रष्ट पार्दछ ।
वैज्ञानिक र स्वास्थ्यका दृष्टिकोणले पनि मलमासको आफ्नै महत्व छ । ज्योतिषीय गणनाअनुसार यो समयमा सूर्य र चन्द्रमाको प्रभाव पृथ्वीमा फरक ढंगले पर्ने भएकाले प्रकृति र मानव शरीरमा केही परिवर्तनहरू आउँछन् । हिन्दु समाजमा नवविवाहित दम्पतीले मलमास छल्नुपर्ने परम्परा छ । जसको पछाडि यो समय गर्भाधानका लागि उपयुक्त नहुने विश्वास लुकेको छ । ऋतु परिवर्तन र खगोलीय विकिरणको प्रभावले गर्भमा रहेको भ्रुणमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर पुर्खाहरूले यस्तो व्यावहारिक र स्वास्थ्यवद्र्धक नियम बसालेका हुन् ।
अधिकमास र क्षयमास बीचको सूक्ष्म अन्तरलाई बुझ्नु पनि उत्तिकै आवश्यक छ । अधिकमास प्रायः हरेक तीन वर्षमा आउँछ र यसमा एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै संक्रान्ति पर्दैन । तर, क्षयमास अत्यन्तै दुर्लभ हुन्छ । जहाँ एउटै चन्द्रमासभित्र दुईवटा संक्रान्तिहरू पर्दछन् । क्षयमास प्रायः कात्तिक, मंसिर वा पुस महिनामा मात्र पर्ने गर्दछ र यस्तो वर्षमा दुईवटा अधिकमासहरू पनि साथै आउँछन् । क्षयमासको तुलनामा अधिकमास बढी नियमित प्रक्रिया हो, जसले पात्रोलाई प्रकृतिको लयसँग बाँधेर राख्छ ।
मलमासलाई ‘अशुभ’ वा ‘मलिन’ महिना भनेर डराउनुभन्दा पनि यसलाई आफ्नो आत्मिक उन्नति र ईश्वरसँग नजिक हुने सुनौलो अवसरका रूपमा लिनु पर्दछ । भौतिक सुख–सुविधा र नयाँ कार्यको मोहबाट केही समय टाढा रहेर आफ्नो भित्री आत्मालाई शुद्ध बनाउने, ध्यान गर्ने र पुण्य कमाउने यो एक प्रकारको आध्यात्मिक विश्राम हो । सूर्य र चन्द्रमाको गतिको यो अद्भुत मिलनले जीवनमा बाहिरी उल्लास जत्तिकै भित्री शान्ति र आध्यात्मिक अनुशासनको पनि ठूलो महत्व छ भन्ने उजागर गर्दछ । त्यसैले पुरुषोत्तम मासलाई आफ्नो जीवनमा सकारात्मक ऊर्जा सञ्चार गर्ने माध्यम बनाउनु नै वास्तविक बुद्धिमानी र सार्थकता हो ।











प्रतिक्रिया