फुटबल केवल छालाको गोलाकार वस्तु र मैदानका हरिया दुबोहरूको प्राविधिक लेखाजोखा मात्र होइन, यो त मानिसको रगत, पसिना र भावनाको यस्तो महासागर हो जहाँ समर्पणका छालहरू कहिल्यै शान्त हुँदैनन् । जब ३९ वर्षको छिपिदैं गएको उमेरमा जापानी डिफेन्डर युटो नागोटोमोले आफ्नो जीवनको पाँचौँ विश्वकपका लागि राष्ट्रिय टोलीमा आधिकारिक रूपमा नाम सुरक्षित भएको खबर सुने, तब उनको आँखाबाट भावना मिश्रित आँसु बग्न थाले । ती आँसुहरूमा केवल हर्ष मात्र थिएन, त्यसमा दुई दशक लामो कठोर संघर्ष, उमेरको सीमालाई चुनौती दिने अदम्य साहस र आफ्नो मातृभूमिप्रतिको अगाध प्रेम लुकेको थियो । टेलिभिजनको पर्दामा आफ्नो नाम सुनेर भावुक हुँदै रोएको नागोटोमोको त्यो क्षणले विश्वभरका करोडौँ खेलप्रेमीहरूको मनलाई जुरुक्क हल्लाइदियो । अनि प्रमाणित गरिदियो कि जब सपनाहरू सपना मात्र नभएर जीवन जिउने आधार बन्छन्, तब उमेर एउटा फगत संख्या मात्र साबित हुन पुग्छ ।
यो एउटा यस्तो दुर्लभ र ऐतिहासिक कीर्तिमानको घडी हो, जसले एसियाली फुटबलकै इतिहासमा स्वर्ण अक्षरले लेखिने नयाँ पाना थपिदिएको छ । सन् २०१०, २०१४, २०१८ र २०२२ का विश्वकप संस्करणहरूमा सामुराई ब्लूको जर्सी लगाएर मैदानमा प्रतिरोधी पर्खाल बनेका नागोटोमो अब पाँच पटक विश्वकपको संस्करण खेल्ने एसियाकै पहिलो खेलाडी बन्दैछन् । तर, यो गौरवशाली उचाइसम्म पुग्ने उनको यात्रा कुनै सुगन्धित फूलको ओछ्यान थिएन । सुरुआती दिनहरूमा नागोटोमोलाई कुनै पनि व्यावसायिक क्लब वा विद्यालयको मुख्य टोलीले पत्याएका थिएनन् । उनलाई प्रतिभाहीन ठानेर किनारा लगाइएका थिए । तर, संसारले नपत्याए पनि आफैँले आफैँलाई प्रमाणित गरेर देखाउने उनले आफ्नो हृदयमा एउटा बलियो अठोट पालेका थिए । मिजी विश्वविद्यालयको मैदानमा खुट्टामा चोट लाग्दा र मनमा निराशा छाउँदा पनि उनले पसिना बगाउन छोडेनन् । जसले उनको प्रतिभालाई निखा¥यो र अन्ततः एफसी टोकियोको माध्यमबाट उनको व्यावसायिक फुटबल यात्राको उदय भयो ।

नागोटोमोको यात्रा हार नमान्ने र जुनसुकै परिस्थितिमा पनि जुरमुराएर उठ्ने जापानी ‘सामुराई’ भावनाको सबैभन्दा जीवन्त र उत्कृष्ट उदाहरण हो । इटालीको सिरी ए क्लब चेसेना हुँदै विश्व प्रसिद्ध क्लब इन्टर मिलानसम्मको यात्रा कुनै चमत्कार थिएन । यो उनको मैदानभित्र र बाहिरको अथक ऊर्जा, लगनशीलता र टोलीका लागि ज्यान दिने स्वभावको प्रतिफल थियो । इन्टर मिलान जस्तो प्रतिष्ठित क्लबमा लामो समयसम्म महत्वपूर्ण उपाधि जित्दै कप्तानको भूमिका समेत निभाएका नागोटोमोले युरोपको तीव्र गतिको फुटबलमा आफ्नो बलियो छाप छोडे । उमेर ढल्कँदै जाँदा धेरै खेलाडीहरू सन्यासको छहारी खोज्छन् वा खेलको गति कम गर्छन् । तर, नागोटोमोले ४० वर्षको संघारमा पुग्दा पनि आफ्नो खेलको धार र जोशलाई अलिकति पनि कम हुन दिएनन् । हाल एफसी टोकियोबाट घरेलु लिग खेलिरहेका उनी आफ्नो परिपक्व अनुभव र अब्बल नेतृत्व क्षमताका कारण टिमका लागि मैदानभित्र मात्र होइन, ड्रेसिङ रुममा पनि उत्तिकै अपरिहार्य ऊर्जाका स्रोत बनेका छन् ।
३९ वर्षको उमेरमा विश्वकप जस्तो फुटबलको सर्वोच्च प्रतियोगिता, तीव्र र मानसिक रूपमा अत्यन्तै चुनौतीपूर्ण मञ्चमा लगातार पाँचौं पटक छनोट हुनु आफैँमा एउटा दुर्लभ घटना जस्तै हो । नागोटोमोको यात्राले आज संसारका ती तमाम युवाहरूलाई प्रेरणा दिइरहेका छन् जो सानासाना असफलताबाट निराश भएर आफ्ना सपनाहरूलाई तिलाञ्जली दिन्छन् । सामुराई ब्लूको त्यो नीलो जर्सीमा पाँचौँ पटक विश्वकपको मैदानमा उत्रिन लाग्दा नागोटोमो केवल एउटा डिफेन्डरका रूपमा मात्र मैदानमा हुने छैनन्, उनीसँगै मैदानमा करोडौँ मानिसका सपना, असम्भवलाई सम्भव बनाउने जीवन्त र दुर्लभ इतिहास उभिनेछ ।











प्रतिक्रिया