अध्यक्ष राईद्वारा संसदीय मर्यादा उल्लङ्घनको आरोपसहित प्रधानमन्त्री शाहको राजीनामा माग (विज्ञप्तिसहित)


काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले प्रधानमन्त्री बालेन्द्र शाह लाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिएका छन्। शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यास कायम गर्न नसकेको आरोप लगाउँदै चार मुख्य कारण प्रस्तुत गरेका हुन्।

उनले संसद र सार्वभौम जनताको अपमान भएको टिप्पणी गर्दै यस घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लागेको बताएका छन्। संसदबाट निर्वाचित प्रधानमन्त्रीले जनताको प्रतिनिधि संस्थाको अपमान गरेर कुन नैतिकताका आधारमा पदमा बसिरहेको हो भन्ने प्रश्न समेत उनले उठाएका छन्।

राईले जनताका प्रश्नको उत्तर दिन नसक्ने र लुकेर बस्ने प्रवृत्तिले गलत नजिर बस्ने उल्लेख गरेका छन्। साथै संसदलाई छलेर अध्यादेशमार्फत अघि बढ्ने सरकारलाई संसदको शक्ति र औचित्य सम्झाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताएका छन्।