स्कटल्यान्ड फेरि २ रनले जित्यो


काठमाडौं ।

कीर्तिपुरमा जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले फेरि रोमाञ्चक जित हासिल गरेको छ । बिहीबार त्रिवि मैदानमा भएको खेलमा स्कटल्यान्डले डीएल पद्धतिको आधारमा अमेरिकालाई २ रनले हराएको हो ।

योसँगैं स्कटल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा पनि उक्ल्यिो । स्कटल्यान्ड ३८ अंक जोडेर शीर्ष स्थानमा उक्लिँदा अमेरिका ३६ अंकसहित शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ । यसअघि मंगलबारको खेलमा स्कटल्यान्डले आयोजक नेपालमाथि डीएल पद्धतिको आधारमा २ रनकै रोमाञ्चक जित हासिल गरेको थियो ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाएर ३ सय २१ को विशाल स्कोर बनाएको थियो । टोलीलाई ठूलो स्कोरमा पु¥याउन तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए । जसमा, टोलीका लागि फिनले म्याकग्राथले सर्वाधिक ७७ रन जोडे । यस्तै, ब्रेन्डान म्याककुलुमले ५५ रन र म्याथ्यु क्रसले ५८ रनको दिएका थिए ।

अमेरिकाले जवाफमा २६.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६० रन बनाउँदा वर्षा भयो र खेल रोकिनु परेको थियो । पछि खेल सुचारु हुँदा नयाँ लक्ष्य ३२ ओभरमा २ सय ४९ रन बनाउनु पर्ने भएको थियो । अमेरिकाले बाँकी ३२ बलमा (५.२ ओभर) थप ८९ रन बनाउनु पर्ने थियो ।

खेल सुरु भएलगतै मिलिन्द कुमार ४ रन बनाएर आउट भए । तर, साइतेजा मुक्कमल्लाले विकेट लिएका शरिफको २ बलमा छक्का र १ बलमा चौका प्रहार गरे । अर्को ओभरमा उनले डेभिडसनको बलिङमा १÷१ छक्का र चौका प्रहार गर्दै अमेरिकालाई जितको आस देखाए ।

अझ अर्को ओभरमा वाटको बलिङमा उनले ३ छक्का प्रहार गदैै शतक पनि पूरा गरे । साथै अमेरिकालाई दबाबबाट पूरै मुक्त गरे । उनको आक्रमक ब्याटिङले गर्दा अमेरिकाले अन्तिम ओभरमा १६ रन बनाउनु पर्ने समीकरण बन्यो । तर, म्याककुलुमको पहिलो बलमै उनी व्यक्तिगत १ सय ४ रनमा आउट भए ।

यसपछि मोहम्मद मोहसिनले दुई बलमा २÷२ रन लिए । अब, अन्तिम बलमा ७ रनको आवश्यक थियो । अमेरिकाको लागि छक्का प्रहार गर्नु बाहेक अर्को विकल्प नै रहेन । अन्तिम बलमा मोहसिनले चौका प्रहार गरेपछि अमेरिकाको हार र स्क्टल्यान्डको जित भयो । अमेरिकाका लागि मुक्कमल्लापछि ओपनर स्मित पटेलले ७२ रन जोडेका थिए । अन्य सबैले निरस ब्याटिङ गरेका थिए ।