रौतहट ।
सिमावर्ती भारतीय बजारबाट अवैधरूपमा कुखुरा भित्रिदा नेपाली किसानहरू पीडित हुँदै आएको बताएका छन । कुखुरा तस्करी नियन्त्रणका लागि प्रहरी प्रशासनलाई पटक–पटक गुहार माग्दा पनि सुनुवाइ नभएको किसानहरूको गुनासो छ ।
रौतहट कुखुरा व्यवसायी किसान संघका अनुसार भारतबाट रौतहटको बङ्गकुल, रामपुर खाप, नरकटिया, औरैया मोतिपुर तथा गौरको महादेवपट्टी नाका हुँदै दैनिक करिब २० क्विन्टल कुखुरा भित्रिने गरेको छ । यसको लागि प्रहरी प्रशासनको समेत सहयोग रहेको छ । रौतहट कुखुरा व्यवसायी किसान संघका सचिव राधेश्याम साहले भारतीय कुखुरा क्वारेन्टाइन परीक्षणबिनै तस्करी गरेर नेपाल भित्याइने गरेको आरोप लगाउनु भयो ।
उहाका अनुसार सीमावर्ती क्षेत्रमा दर्ता भएका केही पोल्ट्री फर्ममा भारतीय कुखुरा राखेर त्यसलाई नेपाली उत्पादनका रूपमा बिक्री वितरण गरिँदै आएको छ । संघका सचिब साहले मुस्कान पोल्टि फर्म, राजु पोल्टि फर्म, भोला पोल्टि फर्म तथा भोलन पोल्टि फर्ममा भारतीय कुखुरा भित्याएर नेपाली बजारमा पठाउने गरिएको दाबी गर्नु भयो ।
संघका अनुसार भारतीय नागरिक अजय सिंहले भाडामा भोलन पोल्टि फर्म सञ्चालन गरिरहेका छन । कुखुरा तस्करी नियन्त्रणको माग गर्दै संघ पछिल्ला दिनदेखि आन्दोलनमा उत्रिएको छ । किसानहरूले हातमा कुखुरा बोकेर बजार क्षेत्रमा प्रदर्शन गर्दै तस्करीविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
संघले सीमावर्ती क्षेत्रमा दर्ता भएका पोल्ट्री फर्ममा तस्करीको कुखुरा राखेर त्यसलाई नेपाली उत्पादनका रूपमा बिल काटी बिक्री गरिने गरेको आरोप लगाएको छ । यसबाट नेपाली किसान प्रत्यक्ष रूपमा मारमा परेको उनीहरूको भनाइ छ । संघले तस्करी नियन्त्रणका लागि कडा अनुगमन गर्न, अवैध आयात रोक्न तथा स्वदेशी उत्पादनको संरक्षण गर्न सरकारसँग माग गरेको छ ।











प्रतिक्रिया