काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सभामुख डीपी अर्यालको सिफारिसमा संविधानको धारा १०६ को उपधारा (१०) बमोजिम अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधिसभाका सम्मानीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१०) बमोजिम श्री प्रकाश अधिकारी, संखुवासभालाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ ।”
यसअघि सभामुख अर्यालकै सिफारिसमा मंगलबार प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरिएको थियो । रिक्त बनेको उक्त पदमा अधिकारीलाई नियुक्त गरिएको हो ।
नवनियुक्त अधिकारी यसअघि सभामुख अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा निजी सचिवका रूपमा कार्यरत थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कार्यकर्ता रहेको चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ ।
रास्वपाले सार्वजनिक रूपमा राज्यका निकायमा आफ्ना दलका कार्यकर्तालाई नियुक्त नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि प्रकाश अधिकारीको नियुक्तिपछि भने सो प्रतिबद्धता व्यवहारमा लागू हुन नसकेको भन्दै आलोचना सुरु भएको छ । विपक्षी दलका नेताहरू तथा राजनीतिक वृत्तमा यो नियुक्तिलाई “राजनीतिक निकटता” को आधारमा गरिएको नियुक्तिका रूपमा टिप्पणी गर्न थालिएको छ ।











प्रतिक्रिया