तीन जना बालक बेपत्ता, अभिभावक चिन्तित

2.73k
Shares

रौतहट ।

तीन दिन अघि रौतहटको कटहरिया बाट हराएका तीन जना बालक अझै फेला नपर्दा अभिभाबक पीडित बनेका छन । तीन जना बालक एकैसाथ सम्पर्कविहीन भएपछि स्थानीय अभिभावक तथा समुदाय चिन्तित बनेका छन ।

कटहरिया नगरपालिका–५ स्थित त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग गत सोमबारदेखि सम्पर्कविहीन भएका हुन्। तीनै जना एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । परिवारका सदस्यका अनुसार उनीहरू सोमबार दिउँसो विद्यालयबाट घर फर्किएका थिए।

त्यसपछि बाहिर खेल्न जान्छौँ भन्दै घरबाट निस्किएका उनीहरू हालसम्म घर नफर्किएको अभिभावकले बताएका छन् । सन्तान हराएपछि अभिभावकहरूले खोजी गरिदिन स्थानीय प्रशासन तथा प्रहरीसमक्ष आग्रह गरेका छन ्।

तर घटनाको तीन दिन बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात रहेको छ । यस विषयमा इलाका प्रहरी कार्यालय कटहरिया, इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालय गौरमा बुझ्दा हालसम्म औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन । स्थानीयवासीले बालकहरूको शीघ्र खोजी गरी सुरक्षित रूपमा परिवारको सम्पर्कमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन ।