आगामी जेठ ८ गते रिलिजमा आउने फिल्म मितज्यूको ट्रेलर सार्वजनिक गरिएको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको ट्रेलर सोमवार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई र सौगात मल्ललाई गाउँमा गाडी चलाउने चालकको भूमिकामा प्रस्तुत गरिएको छ। उनीहरूले मितेरी साइनो बाधेका छन् भने गाउ“को बाटोमा यात्रु बोक्ने प्रतिस्पर्धासँगै उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरले देखाएको छ।
ट्रेलरमा दयाहाङ र सौगातबीचको मित्रता, प्रतिस्पर्धा र तनावलाई ग्रामीण परिवेशमा रोचक ढंगले प्रस्तुत गरिएको छ। सौगात, दयाहाङको घरमा मितको नाताले भाले बोकेर पुग्ने दृश्यदेखि गाउँले शैलीका संवादले ट्रेलरलाई थप आकर्षक बनाएको छ। तेरिया मगरले मितिनीको भूमिकामा गाउँले परिवेश झल्किने संवाद बोलेकी छन्।
कथामा ज्योतिषी पात्रले मितेरी सम्बन्धलाई सामान्य रूपमा नलिन चेतावनी दिने दृश्य पनि समावेश छ। त्यसपछि मितेरी सम्बन्धमै दरार आउनु, एकअर्काबीच झगडा बढ्नु र मितकै नाममा कलंकसम्म लाग्ने अवस्थाले कथालाई थप द्वन्द्वात्मक बनाएको देखिन्छ।
फिल्मले नेपालमा कुनै समय प्रचलनमा रहेको मितेरी साइनोको सामाजिक पक्षलाई उठान गरेको संकेत ट्रेलरले दिएको छ। ग्रामीण समाज, सम्बन्ध र प्रतिस्पर्धाको मनोविज्ञानलाई फिल्मले केन्द्रमा राखेको छ।
जनक घर्ती मगरद्वारा निर्मित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारले अभिनय गरेका छन्। तेरिया मगरले यही फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ।
अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत, श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर, लोकेश शिशिर बिशंखेको छाया“कन र बज्राचार्यको सम्पादन रहेको छ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। निर्माण टिमका अनुसार फिल्मको नेपाल प्रदर्शनअघि नै हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।











प्रतिक्रिया