काभ्रे।
तेमाल गाउँपालिकास्थित राष्ट्रिय वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालन गरिएको ‘हेन्जेन दोर्जे’ क्रसर उद्योगविरुद्ध वन मुद्दा दर्ता भएको करिब एक महिना बितिसक्दा पनि मुख्य सञ्चालकहरू अझै पक्राउ परेका छैनन् ।
उद्योग सञ्चालक तेमाल–२ का शंकरमान तामाङ, शान्ति लामा र पाँचखाल–११ का मुकेश भनिने राम पन्त फरार भएका हुन् ।
डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले उद्योगका व्यवस्थापक पाँचखाल–१३ का ३१ वर्षीय किरण लामा ब्लोनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । वन ऐन–२०७६ को दफा ५८ को उपदफा २ बमोजिम उनीहरूविरुद्ध पक्राउ अनुमति जारी गरिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका सूचना अधिकारी अक्षय दनुवारले बताउनुभयो । डिभिजन वन कार्यालयले तयार गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार उद्योगले करिब ३ दशमलव ४ हेक्टर राष्ट्रिय वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको पुष्टि भएको छ ।
प्रतिवेदनमा करिब १० लाख ७६ हजार ५ सय ६१ स्क्वायर फिट बराबरको ढुंगा–गिट्टी तथा निर्माण सामग्री उत्खनन गरिएको उल्लेख छ । अनुसन्धान टोलीका अनुसार उद्योगले ३० हजार ४ सय ८८ घनमिटर सामग्री अवैध रूपमा उत्खनन गरेको देखिएको छ । वागमती प्रदेश सरकारले प्रतिवर्गफिट ९ रुपियाँ मूल्य निर्धारण गरेको आधारमा मात्रै पनि उद्योगले करिब ९६ लाख ८९ हजार रुपियाँ बराबरको सामग्री बिक्री गरेको प्रारम्भिक निष्कर्ष छ ।
स्थानीयवासीले भने १५ वर्षदेखि निरन्तर वन अतिक्रमण र उत्खनन हुँदै आएकाले वास्तविक क्षति यसभन्दा धेरै ठूलो रहेको दाबी गरेका छन् । उनीहरूका अनुसार वार्षिक १ करोड रुपियाँभन्दा बढी बराबरको प्राकृतिक स्रोत दोहन भएको हुन सक्छ । ‘उद्योगका सातवटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने क्रसर उद्योग सिल गरिएको छ’, डिभिजन वन अधिकृत केबी थापा भन्नुहुन्छ– ‘वन क्षेत्र तथा सार्वजनिक जग्गा अतिक्रमण गरी उद्योग सञ्चालन गरिएको पुष्टि भएपछि वन ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।’
अनुगमन प्रतिवेदनअनुसार ‘हेन्जेन दोर्जे’ कम्पनी प्रालिले निजी जग्गामा सञ्चालन अनुमति लिएको भए पनि व्यवहारमा सार्वजनिक तथा वन क्षेत्रमा क्रसर र खानी सञ्चालन गर्दै आएको पाइएको छ । उद्योग सञ्चालनका लागि आवश्यक ढुंगा–गिट्टी उत्खनन गरी राष्ट्रिय वन क्षेत्रमा खानीसमेत सञ्चालन गरिएको उल्लेख छ ।
स्थानीयबासीले खानी सञ्चालनका कारण तल्लो तटीय क्षेत्रका खेतबारीमा क्षति पुगेको, पानीका मुहान सुक्न थालेको तथा धूलो र ध्वनि प्रदूषणका कारण जनजीवन प्रभावित भएको गुनासो गरेका छन् । १७ वटा घरमा प्रत्यक्ष क्षति पुगेको छ भने करिब ४ सय घरधुरी जोखिममा परेका छन् । स्थानीय विद्यालयसमेत ध्वनि प्रदूषणबाट प्रभावित भएको तथा खोलाको प्राकृतिक बहाव परिवर्तन भएको आरोप छ ।
उजुरीपछि डिभिजन वन कार्यालयले वन अधिकृत, रेन्जर, नापी कार्यालयका सर्भेक्षक तथा सुरक्षाकर्मी सम्मिलित टोली खटाएर २०८२ चैत १२ गते स्थलगत निरीक्षण गरेको थियो । नक्सा सिट नम्बर १५७१५३८ अन्तर्गत पर्ने कित्ता नम्बर ६३ र १६३ भित्र वन अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।
वन ऐन–२०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद, बिगोअनुसार जरिवाना तथा क्षतिपूर्ति असुल गर्न सकिने व्यवस्था छ ।














प्रतिक्रिया