काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता ले देशव्यापी ‘सरसफाइ सप्ताह–२०८३’ को उद्घाटन गरेकी छन् । सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सुरु गरेको अभियानको उद्घाटन मन्त्री मेहताले सोमबार बिहान वीर अस्पतालमा पुगेर गरेकी हुन् ।
आज बिहान साढे ८ बजे आयोजित कार्यक्रममा मन्त्री मेहताले झाडु–कुचो लिएर सांकेतिक रूपमा सरसफाइ कार्यक्रममा सहभागिता जनाएकी थिइन् । कार्यक्रममा अस्पतालका सरसफाइकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पनि सहभागी भएका थिए ।
मन्त्री मेहताले अस्पताल परिसर, सेवा कक्ष तथा वरपरको वातावरण सफा राख्नु नागरिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउँदै सरसफाइलाई व्यवहारमै उतार्न सबैलाई आग्रह गरिन् ।
उनले स्वास्थ्य संस्था मात्र नभई सार्वजनिक कार्यालय, विद्यालय, सडक तथा सामुदायिक क्षेत्रहरू पनि स्वच्छ राख्न आवश्यक रहेको उल्लेख गरिन् । “स्वच्छ वातावरणले मात्रै स्वस्थ समाज निर्माण गर्न सक्छ,” मन्त्री मेहताले भनिन्, “सरसफाइलाई अभियानका रूपमा मात्र होइन, दैनिक संस्कारका रूपमा विकास गर्न आवश्यक छ ।
” सरकारले आजदेखि सुरु गरेको ‘सरसफाइ सप्ताह–२०८३’ जेठ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ । अभियानअन्तर्गत संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय, अस्पताल, विद्यालय तथा सार्वजनिक निकायहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ । मार्गदर्शनमा कार्यालय परिसर, सार्वजनिक सेवा केन्द्र, खानेपानी तथा शौचालय व्यवस्थापन, फोहोर व्यवस्थापन र हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राख्न भनिएको छ ।
सरकारले अभियानमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ । सरसफाइ सप्ताहका क्रममा विभिन्न सचेतनामूलक कार्यक्रम, वृक्षरोपण, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरिनेछन् ।
वीर अस्पतालमा आयोजित उद्घाटन कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । अभियानले सरकारी निकायहरूमा सरसफाइ र अनुशासनको संस्कृति विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया