पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस


काठमाडौं ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरेको छ।

कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार ती चालकहरूले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

ट्राफिक प्रहरीले विशेष निगरानी तथा डिजिटल अभिलेख प्रणालीमार्फत बारम्बार नियम उल्लंघन गर्ने चालकहरूको विवरण संकलन गरी विभागमा पठाएको जनाएको छ। ती चालकहरूमा अत्यधिक गति, लेन मिच्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक संकेत उल्लंघन गर्ने लगायतका कसुर दोहोरिएको पाइएको छ।

प्रहरीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न कडाइका साथ ट्राफिक निगरानी बढाइएको छ। बारम्बार नियम उल्लंघन गर्ने चालकलाई चेतावनी मात्र नभई लाइसेन्स निलम्बनसम्मको कारबाही गरिने नीति कार्यान्वयनमा ल्याइएको एसएसपी अधिकारीले बताए।

यातायात व्यवस्था विभागले सिफारिस अध्ययनपछि सम्बन्धित चालकको लाइसेन्स निश्चित अवधिका लागि निलम्बन गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।