असिनापानीले हिउँदे बाली तथा फलफूलमा ठूलो क्षति

1.13k
Shares

मुगु। 

मुगुम कार्मारोङ गाउँपालिका–९ अन्तर्गत पाँपु गाउँमा शनिवार परेको भीषण असिनापानीले पाकेर घर भित्र्याउने तयारीमा रहेका हिउँदे बाली तथा फलफूलमा ठूलो क्षति पुर्‍याएको छ। असिनाले जौ, गहुँ, उवा लगायतका हिउँदे बालीसँगै कोदो, भुवा धान, चिनो र विभिन्न फलफूल क्षति गर्दा स्थानीय कृषक चिन्तित बनेका छन्।

स्थानीयका अनुसार शनिवार दिउँसो ४ बजेर ४० मिनेटदेखि करिब आधा घण्टासम्म लगातार परेको असिनापानीले खेतबारीमा लगाइएका अधिकांश बाली नष्ट गरेको हो। एक साताभित्र भित्र्याउने तयारीमा रहेका जौ, गहुँ र उवा सबैभन्दा बढी क्षति भएको छ।

स्थानीय भान बुढाले भने, ‘यति ठूलो असिनापानी यसअघि कहिल्यै परेको थिएन। पाकेर घर भित्र्याउन लागेको बाली र फलफूलमा सबैभन्दा बढी क्षति पुगेको छ। भर्खरै रोपिएका कोदो, भुवा धान र चिनो बाली पनि असिनाले सखाप बनाएको छ।’ उनका अनुसार असिनाले लेक क्षेत्रमा राखिएका पशुचौपायामा समेत क्षति पुगेको आशङ्का गरिएको छ। तर, घटनास्थलमा सञ्चार सम्पर्क हुन नसक्दा त्यसबारे विस्तृत जानकारी आउन सकेको छैन।