काठमाडौं ।
पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकैको जंगलमा शंकास्पद अवस्थामा तीन वटा पुरानो ग्रिनेड फेला परेका छन्।
स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार अवैध घरटहरा भत्काइएको ठाउँभन्दा केही माथि जंगलमा ती ग्रिनेड भेटिएका हुन्। घटनास्थलमा तुरुन्तै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
उनले भने ‘तीन वटा पुरानो ग्रिनेड फेला परेको छ। तत्काल क्षेत्रलाई सुरक्षित बनाइएको छ र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाइएको छ। ग्रिनेडलाई सुरक्षित तरिकाले निष्क्रिय पार्ने काम भइरहेको छ।
’ हाल घटनास्थल वरपरको क्षेत्रलाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। ग्रिनेड कस्तो अवस्थामा र कहाँबाट आएको भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए। हालसम्म कुनै पनि क्षति वा विस्फोटको समाचार छैन। सुरक्षाकर्मी घटनास्थलमै तैनाथ रहेका छन्।











प्रतिक्रिया