लहना सुशीलवीरसिंह पत्रकारिता पुरस्कार समाचारपत्रकर्मी महर्जनलाई प्रदान


काठमाडौं ।

नेपाल समाचारपत्र दैनिकका सहायक सम्पादक सुनील महर्जनलाई यस वर्षको लहना सुशीलवीरसिंह कंसाकार पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाल भाषाको रंगीन साप्ताहिक लहनाको प्रकाशन भएको १३औं वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक समारोहका बीच सो पुरस्कार प्रदान गरिएको हो । संस्कृति, सम्पदाको संरक्षण, आदिवासी जनजाति अधिकार र सुशासन प्रवद्र्धनमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको थियो ।

नेपालभाषा पहिलो दैनिक विश्वभूमिका सम्पादकसमेत रहेका स्वर्गीय सुशीलवीरसिंह कंसाकारको नाउँमा उहाँका दाजु जगवीरसिंह कंसाकारले सो पुरस्कार स्थापना गनुभएको थियो । स्वर्गीय कंसाकारका छोरा सुयोगवीर सिंह कंसाकारले पुरस्कारको नगद राशि २० हजार रुपियाँ प्रदान गर्नुभयो ।

सोही अवसरमा सुरेशकिरण पत्रकारिता पुरस्कार कार्टुनिस्ट रविन सायमी, लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार इमेज च्यानलका समाचारवाचक केके मानन्धर र नेपाल टेलिभिजनका सकुन्तला महर्जन, लहना धर्म–मोति पत्रकारिता पुरस्कार एपीवान टेलिभिजनका राजु नापित र खबर सेन्टर डटकमका उत्तमकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो ।

सोही अवसरमा कलाकारहरूलाई प्रदान गरिने लहना सुरशर्मिष्ठा पुरस्कार वरिष्ठ कलाकार पवन जोशी, आराध्यलक्ष्मी खड्गीलाई प्रदान गरिएको थियो ।

पुरस्कृत हुनेलाई प्रेस काउन्सिलका मुख्य झविन्द्र भुसालले खादा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष पदक, नेवा देय् दबूका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिले माला, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले दोसल्ला र प्रतिनिधिसभाका सांसद कुलभक्त शाक्यले प्रमाणपत्र प्रदान गर्नुभयो । नगद राशि सम्बन्धित पुरस्कारका दाताले प्रदान गरेका थिए ।

सो समारोहमा ललितपुर महानगरपालिका–१६ वडाका अध्यक्ष निर्मलरत्न शाक्य, समाजसेवी गौतमरत्न शाक्य, गायिका सरिता महर्जन, व्यवसायी अमृतरत्न शाक्य, सुनीता महर्जनलगायतलाई लहना गौरव सम्मान प्रदान गरिएको थियो ।

समारोहमा व्यवसायी तथा समाजसेवी रविन्द्रराज ताम्रकारले लेख्नुभएको लेखहरूको संग्रह ‘संस्कृति, समाज व व्यवसाय’ नामक पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकमा ललितपुरको पहिचान र विशेषतासहितको अर्थतन्त्रका एजेन्डा र संस्कृति र समाजका विविध विषयहरू समेटिएको छ ।

सो अवसरमा लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले मातृभाषाको पत्रकारिताको विकास र यसका विभिन्न एजेन्डालाई पत्रकारितामार्फत अघि बढाउने पत्रकारहरूलाई वर्षेनी पुरस्कृत गर्दै आएको बताउनुभयो ।

नेपाली भाषाका दैनिक पत्रिकाहरू संकटग्रस्त रहेको बेला अरू भाषाका पत्रकारिताको विकास थप चुनौती रहेको उल्लेख गर्दै यसमा राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो । लहनाका सम्पादक सुरेन्द्रभक्त श्रेष्ठले सरकारले लोककल्याणकारी विज्ञापन रोकेर विविध भाषाका पत्रिकाहरू बन्द खोजेको बताउँदै यस विषयमा आन्दोलन गर्नुपर्ने स्थिति उत्पन्न भएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालका अनुसार ८ हजार पत्रपत्रिका दर्ता रहेकोमा १ हजार पत्रपत्रिकाहरूमात्र हाल प्रकाशन भइरहेको उल्लेख गर्दै विविध भाषाको पत्रकारितालाई काउन्सिलले प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो ।