ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने : राष्ट्रपति पौडेल


काठमाडौं ।

काठमाडौंमा आयोजित ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नागरिकको अनुभव र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

उनले ज्येष्ठ नागरिकका असल अभ्यासलाई पाठ्यक्रम र अन्तर्क्रियामार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। साथै, सक्षम ज्येष्ठ नागरिकलाई उपयुक्त काममा सहभागी गराई उत्पादनसँग जोड्न र नीति निर्माण तथा सामुदायिक गतिविधिमा उनीहरूको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने सुझाव दिए।

राष्ट्रपति पौडेलले नेपाल क्रमशः बुढ्यौली जनसङ्ख्यातर्फ उन्मुख भइरहेको उल्लेख गर्दै युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिन चुनौती रहेको बताए। उनले ज्येष्ठ नागरिकको प्रभावकारी व्यवस्थापनका लागि अन्य देशका अभ्यासबाट सिक्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए।