लक्ष्य भन्दा बढि गौर भन्सार कार्यालयको राजश्व संकलन

2.35k
Shares

रौतहट ।

चालु आर्थिक वर्षको साढे दुई महिना अघिनै गौर भन्सार कार्यालयले लक्ष्य भन्दा बढि राजश्व रकम उठाएको छ । आर्थीक बर्ष ०८२/०८३ मा गौर भन्सार कार्यालयले आयात तथा निर्यात वस्तुबाट ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा यस आर्थीक बर्षको निर्धारित समय अगाबै बैशाख २२ गते सम्म ३४ करोड २० लाख २५ हजार ११७ रुपैयाँ संकलन भइसकेको कार्यालयले जनाएको छ ।

यो १०२ दशमलब ७१ प्रतिशतले उठेको राजश्व रकम हो । यस आर्थीक बर्षको मसान्त सम्म राजश्व संकलनमा बृध्लि हुने जनाइएको छ । बिगत आर्थीक बर्षको तुलनामा यस आर्थीक बर्षमा गौर भन्सार कार्यालयले उल्लेखनीय सफलता हासिल गर्दै लक्ष्यभन्दा अघि नै राजस्व संकलन गर्न सफल भएको छ । गौर भन्सार कार्यालयको ईतिहासमा लक्ष्य भन्दा बढि राजश्व संकलन भएको यस बर्षनै हो ।

भन्सार प्रशासनले भारतबाट आउने घरायसी वस्तुहरूमा व्यवहारिक दृष्टिकोण अपनाउँदै अन्य वस्तुहरूमा कडाइ गरेको परिणामस्वरूप राजस्व वृद्धि भएको जनाइएको छ । भन्सार अधिकृत विकास कुमार रजकका अनुसार सवारी साधन तथा अन्य मालसामानको समयमै लिलामी प्रक्रिया अघि बढाइएकोले पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको हो।

साथै, निर्यात जाँचपासमा वृद्धि र नियमित गस्तीको कारण चुहावट नियन्त्रणमा आएको छ । यस आर्थिक वर्षमा करिब आठ लाख रुपैयाँ बराबरका १२ वटा मुद्दा दर्ता गरिएको छ । राजस्व वृद्धिमा कार्यालयले दुई पटक गरेको सवारी लिलाम प्रक्रियाबाट प्राप्त १ करोड १५ लाख २६ हजार ९७५ रुपैयाँ र यस गौर भन्सार नाका बाट भेनियरको निर्यातमा भएको उल्लेखनीय बढोत्तरीको महत्त्वपूर्ण भूमिका रहेको छ ।

भन्सार प्रशासनलाई थप कडाइ गर्दै कार्यालयले पशुजन्य मालवस्तु, पेय पदार्थ, केरा तथा विभिन्न प्रकारका चटौराहरूको आयातमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।