राष्ट्रपतिद्वारा ६ अध्यादेश जारी, २ अध्ययनमै


काठमाडौं । 

सरकारको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला तीन दिनमा ८ मध्ये ६ वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र केही नेपाल ऐन संशोधनसम्बन्धी अर्को अध्यादेश भने अझै अध्ययनकै क्रममा छन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् र थप निर्णयमा पुग्न बाँकी रहेको जनाइएको छ। केही कानुन संशोधनसम्बन्धी विस्तृत प्रस्ताव भएकाले त्यसबारे पनि समीक्षा जारी छ।

राष्ट्रपति कार्यालयले बाँकी दुई अध्यादेशबारे निर्णयपछि मात्रै औपचारिक जानकारी दिने जनाएको छ।

कुन कुन भए सिफारिस ?

राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् ।

राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो ।

त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो ।

आज (१९ वैशाख, शनिबार) भने एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ शनिबार दिउँसो जारी भएको हो ।