काठमाडौं ।
जनकपुरधाम क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । पुरातत्व विभागले जनकपुर क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई संरक्षण गर्ने उद्देश्यले रामजानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न लागेको हो ।
विभागले संरक्षित स्मारक क्षेत्र घोषणा गर्न औपचारिक रूपमा प्रक्रिया अघि बढाएको जनाएको हो । विभागका प्रवक्ता सन्दीप खनालले यसका लागि विज्ञहरूको प्रस्तुतिसहित सरोकारवाला निकायबीच विस्तृत छलफल सम्पन्न गरेको जानकारी दिनुभयो । जनकपुर क्षेत्रलाई स्मारक क्षेत्र घोषणा गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले समेत चासो व्यक्त गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको प्रारम्भिक छलफलपछि संरक्षित स्मारक क्षेत्र घोषणासम्बन्धी समन्वय तथा कागजात संकलनका लागि पुरातत्व विभागअन्तर्गत सम्पदा संरक्षण शाखा प्रमुखको देवेन्द्र भट्टराईको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ ।
समितिले जनकपुर क्षेत्रको स्थलगत अनुगमन गरेर सम्पदाहरूको संरक्षणको काम सुरु गरेको छ । जनकपुरक्षेत्र परिसरमा रहेको दर्जनौं सम्पदा संरक्षण गरी त्यसको महत्व विश्वव्यापी बनाउन संरक्षित क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनकपुर क्षेत्रलाई संरक्षित घोषणा गर्न जनकपुर उपमहानगरपालिका, बृहत्तर जनकपुरक्षेत्र विकास समिति स्थानीयको महत्वपूर्ण भूमिका रहनेछ ।
विभागले संरक्षित स्मारक क्षेत्र संरक्षण समितिको पहिलो बैठक सम्पन्न भइसकेको जनाएको छ । बैठकलगत्तै सम्पदा संरक्षण गर्ने काम सुरु भएको छ । संयोजक भट्टराईसहितको टोलीले जनकपुरमा सम्पदा संरक्षणको काम जारी राखेको छ ।
सम्पदा क्षेत्रको कागजात संकलन, क्षेत्रको सीमा निर्धारण तथा सरोकारवाला निकायहरूसँग समन्वयलाई तीव्र बनाइएको छ । जनकपुरधाम उपमहानगरपालिका र पुरातत्व विभागबीच संरक्षित क्षेत्रको सीमांकनमा निष्कर्षमा पुग्ने उद्देश्यले निरन्तर छलफल भइरहेको विभागका प्रवक्ता खनालले जानकारी दिनुभयो ।
विभागले रामजानकी मन्दिरको अन्तरपरिक्रमा पथभित्र रहेका सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण अद्यावधिक गरिएको छ । साथै प्राचीन स्मारकहरूको सर्वेक्षण तथा वर्गीकरण समितिले बैठक गरी अद्यावधिक गरिएका सम्पदाहरूलाई महत्वका आधारमा वर्गीकरण गर्ने काम अगाडि बढाएको छ ।
पुरातत्व विभागका प्राविधिकहरूद्वारा जनकपुरधाममा सूचीकरण अद्यावधिक गरिरहेको छ । त्यहाँ रहेका मठ, मन्दिर, पोखरी, कुटी, मस्जिदलगायतका सांस्कृतिक तथा धार्मिक संरचनाहरूको विवरण संकलन तथा लगत लिने कार्य जारी रहेको छ । विभागले गंगा सागर, राम मन्दिर, रत्न सागर, जानकी मन्दिर, कुमेश्वर सत्तललगायत सम्पदाको सूचीकरण जारी राखेको छ ।











प्रतिक्रिया