कोशी कटान रोक्न बाँध निर्माण

376
Shares

उदयपुर ।

उदयपुर र सुनसरी जिल्लाको सीमा हुँदै बग्ने सप्तकोशीको बाढीबाट उदयपुरतर्फको डिल जग्गा कटान हुने सम्भावित खतरालाई रोक्न बाँध निर्माण गरिएको छ । कोशी कटान हुने अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका वडा नं. ८, लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा बाँध निर्माण गरिएको हो । बिगबोल्डर अर्थात् ठूला ढुङ्गाको तटबाँध निर्माण गरी वर्षायाम आउनुअगावै कोशी कटान रोकथामको काम शुरु गरिएको हो ।

सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, विराटनगरले २ करोड ३२ लाख ९८ हजार ६९० रुपियाँको लागतमा ठेक्का सम्झौता गरी दुई छुट्टाछुट्टै निर्माण व्यवसायीमार्फत एक किलोमिटर लम्बाइ, ९ मिटर स्लोभ उचाइ र डेढ मिटर धुरीको चौडाइ भएको ठूला ढुङ्गा लगाएर तटबाँध निर्माण गरी कोशी नियन्त्रणको काम गरेको हो ।

विगतमा सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि सो स्थानभन्दा तलबाट कटान गरी कोशी पुन गाउँतिर पस्ने खतरा बढेकोले बिगबोल्डर स्लोभ तटबाँध निर्माण गरी कोशी नियन्त्रणको कार्य धमाधम भइरहेको सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, विराटनगरका आयोजना प्रमुख डीई राजेन्द्रप्रसाद देवले बताउनुभयो ।

कोशीको प्रवाहलाई किनारातिर ठोक्किएर दबाब कम गरी कटान नियन्त्रण गर्न अघिल्ला वर्षहरुमा लगाइएको बिगबोल्डर प्रभावकारी भएकोले अहिले पनि त्यस प्रकारको नदी कटानको प्रवाहलाई नियन्त्रण गर्न सोही किसिमको बिगबोल्डरको स्थायी प्रकृतिको बाँध बनाइएको उहाँले बताउनुभयो ।
केयन बिल्डर्स प्रालि मोरङ र दिखुपा कन्ट्रक्सन प्रालि सुनसरीसँग १ करोड १६ लाख ४८ हजार ९०५ रुपियाँ र १ करोड १६ लाख ४९ हजार ७८४ रुपियाँको लागतमा तटबाँध निर्माण गर्न गतवर्ष दुई अलग–अलग ठेक्का सम्झौता गरी निर्माणको काम अगाडि बढाइएको डीई देवले बताउनुभयो ।

त्यहाँ स्थायी प्रकृतिको तटबाँध नहुँदा यो वर्ष पनि बाढीको उच्च जोखिम कायमै रहेको अवस्थामा करिब ५ सय घर–परिवारहरु विस्थापित हुन सक्ने स्थिति भएपछि २ सय किलोग्रामभन्दा बढी तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्न सक्ने खालको स्थायी प्रकृतिको बाँध बनाइएको उहाँले बताउनुभयो ।
सप्तकोशीको बाढीबाट विगत वर्षमा बेलका नगरपालिका वडा नं. २, ३, ८, ९ र सुनसरीको बराह क्षेत्र नगरपालिकाको ६ र ९ नम्बर बडाका गरी करिब २ हजार ५ सय घर प्रभावित बनेकोमा ५ सय परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको थियो । सो क्षेत्रमा थप तटबाँध निर्माण गरी कोशी कटानको जोखिमबाट स्थानीय टप्पुबासी जनताको सुरक्षाका लागि थप बजेट आवश्यक परेको पनि उहाँले बताउनुभयो ।

कोशी कटानको जटिल समस्याले जीवन र मरणको सँघारमा बाँचिरहेका त्यस क्षेत्रका गरिब तथा विपन्न किसानहरुको कष्टकर दैनिकीलाई यस वर्ष बनाइएको बाँधले ठूलो राहत पुग्ने विश्वास गरिएको छ । हाल इरान र अमेरिकाबीचको लडाइँले मध्यपूर्वमा भइरहेको इन्धन अभावका कारण निर्माण सामग्रीहरुको मूल्य एकाएक आकाशिएको अवस्था छ । त्यसैले बीचैमा योजना छोडेर भाग्नुपर्ने हो कि भन्ने स्थिति आइपरेकोले सरकारले यस किसिमका अत्यन्त संवेदनशील योजनाहरुको कार्य निरन्तरता दिन मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ ।