नेपाल चिकित्सक संघको निर्वाचनमा डा. बद्री रिजाल प्यानलको बहुमत


काठमाडौं ।

नेपाल चिकित्सक संघ (एनएमए) को हालै सम्पन्न निर्वाचनमा डा. बद्री रिजाल नेतृत्वको प्यानलले भारी बहुमतसहित विजय हासिल गरेको छ । अन्तिम मत परिणामअनुसार दुई उपाध्यक्ष र तीन सदस्य पदबाहेक अन्य अधिकांश महत्वपूर्ण पदमा रिजाल प्यानलका उम्मेदवार विजयी भएका छन् ।
१९ सदस्यीय कार्यसमितिमा अधिकांश स्थान आफ्नो पक्षमा पार्दै डा.रिजालको टिमले संगठनभित्र स्पष्ट बहुमत स्थापित गरेको छ । निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मका गरी कुल ५६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

अध्यक्षमा डा. बद्री रिजाल ३,१९६ मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी डा. मंगल रावलले २,९४० मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल विजयी भएका छन् ।

प्रदेशतर्फ पनि डा. रिजाल प्यानलको प्रभाव देखिएको छ । सातमध्ये पाँच प्रदेशमा उपाध्यक्ष तथा प्रदेश संयोजक पदमा उनका उम्मेदवार विजयी भएका छन् कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, वागमतीमा डा. सुवास भट्टराई, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशी निर्वाचित भएका छन् ।

यद्यपि, गण्डकी र कर्णाली प्रदेशमा भने टिम मंगलका उम्मेदवारहरूले सफलता हासिल गरेका छन् । गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा. रबिन खड्काले जित निकालेका हुन् ।

सदस्य पदमा डा. बद्री प्यानलबाट तीन जना विजयी भएका छन् भने टिम मंगलबाट दुई र टिम रिफर्मबाट एक जना उम्मेदवार सफल भएका छन् । टिम बद्रीबाट डा. राकेश साह, डा. सुस्मित काफ्ले र डा. बिना श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै, टिम मंगलबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठ तथा टिम रिफर्मबाट डा. शेषराज घिमिरे निर्वाचित भएका छन् ।

समग्रमा, यस पटकको निर्वाचनमा डा. बद्री रिजालको प्यानलले संगठनभित्र बलियो पकड कायम गर्दै आगामी कार्यकालका लागि नेतृत्व सुनिश्चित गरेको छ ।