काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वशिष्टनारायण यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कागती पकेट विकास कार्यक्रममा अनियमितता गरेको भन्दै आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
लागत अनुमानबमोजिमको काम नगरी फिल्डमा नभएको कामको समेत नापी गरी ११ लाख ६९ हजार ७ सय ६० रुपियाँ भुक्तानी गरिएको आयोगको दाबी छ ।
उक्त मुद्दामा सोही पालिकाको वडा नम्बर १२ का तत्कालीन वडाध्यक्ष गंगाबहादुर पुन, पालिकाका तत्कालीन इन्जिनियर खुबीराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसीलाई पनि प्रतिवादी बनाइएको छ ।
त्यसैगरी, तत्कालीन कम्प्युटर अपरेटर चित्रबहादुर केसी, तत्कालीन कृषि प्राविधिक ओमप्रकाश ओली, तत्कालीन सह–लेखापाल नवराज खड्का र पुथा हिमालयन अर्गानिक कृषि प्रालि र त्यसका प्रोप्राइटर सुजन पुनविरुद्ध पनि मुद्दा लगाइएको छ ।
त्यसैगरी, सोही परियोजनाअन्तर्गत बंगुर पकेट विकास कार्यक्रमअन्तर्गत ९ लाख ६७ हजार ३ सय ७८ रुपियाँ अनियमितता भएको भन्दै ७ जनाविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।











प्रतिक्रिया