रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, लापरवाही गर्ने ५ चालक नियन्त्रणमा


काभ्रेपलाञ्चोक।

अविरल वर्षापछि बढेको रोशी खोलाको बहावका कारण बीच धारमा फसेका यात्रुहरूको सकुशल उद्धार गरिएको छ।

सोमबार साँझदेखि परेको निरन्तर वर्षाले खोलाको बहाव ह्वात्तै बढेपछि पाँचवटा माइक्रोबस बीच भागमै अड्किएका थिए। ती सवारीमा रहेका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले मंगलबार बिहान करिब १ बजे सुरक्षित रूपमा उद्धार गरेको हो। उद्धारपछि सबै यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

उद्धार कार्यका क्रममा सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी रोक्न निर्देशन दिएको भए पनि चालकहरूले लापरवाहीपूर्वक सवारी चलाउँदा यात्रुहरूको ज्यान र धन दुवै जोखिममा परेको पाइएको छ। उक्त घटनामा संलग्न पाँचवटा माइक्रोबसका चालकहरूलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार ती चालकहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक को हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले वर्षायाममा खोलानाला तथा जोखिमयुक्त क्षेत्र पार गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ