फिफा वर्ल्डकप २०२६ मा वर्ल्ड च्याम्पियन यूरोपियन टिमहरू


फिफा वर्ल्डकप २०२६ सुरु हुन पनि धेरै दिन बाँकी छैन । झन्डै डेढ महिना बाँकी रहेको यस वर्ल्डकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैंछ । यसपटक युरोपियन टिमहरूबाट इटालीबाहेक बाँकी वर्ल्ड च्याम्पियन बनेका टिमहरूको सहभागिता रहने छन् । चारपटकको वल्र्ड च्याम्पियन जर्मनी, २ पटकको वर्ल्ड च्याम्पियन फ्रान्स तथा एक–एक पटकका वल्र्ड च्याम्पियन इंग्ल्यान्ड र स्पेनले सहभागिता जनाउँदैंछन् । चारपटकको वर्ल्ड च्याम्पियन इटाली भने लगातार तीन वर्ल्डकप (२०१८ रसिया, २०२२ कतार र २०२६) मा छनौट हुन सकेन ।

युरोपका वर्ल्ड च्याम्पियन टिमहरूको प्रदर्शनः

जर्मनीको २१ औं सहभागिता

जर्मनीको आगामी वर्ल्डकप २१ औं सहभागिता हुनेछ । जर्मनीले चारपटक वल्र्डकप उपाधि जितेको छ । जसमा, राष्ट्र दुई भागमा बाडिँदा पश्चिम जर्मनी टिमले ३ पटक वर्ल्डकप उपाधि जितेको थियो । पश्चिम जर्मनी १९५४, १९७४ र १९९० मा वल्र्ड च्याम्पियन बनेको थियो । यसपछि ब्राजिलमा २०१४ मा भएको वल्र्डकप जित्दा एकिकृत जर्मनीको टिम थियो । तर, पछिल्ला दुई वर्ल्डकपमा जर्मनीको लागि निकै निरस प्रदर्शन भएको थियो । दुबै संस्करणमा जर्मन टिम ग्रुप स्टेजबाट बाहिरिनु परेको थियो ।

३ ग्रुप स्टेज–१९३८, २०१८, २०२२

४ क्वार्टरफाइनल–१९६२, १९७८, १९९४, १९९८

१ चौथो–१९५८,

४ तेस्रो–१९३४, १९७०, २००६, २०१०

४ रनरअप–१९६६, १९८२, १९८६, २००२

४ च्याम्पियन–१९५४, १९७४, १९९०, २०१४

फ्रान्सको १७ औं सहभागिता

आगामी वल्र्डकप फ्रान्सको १७ औं सहभागिता हुनेछ । १९९० र १९९४ का वल्र्डकपमा छनोट हुन नसकेको फ्रान्सले १९९८ मा च्याम्पियन ब्राजिललाई हराएर वल्र्डकप जित्न सफल भएको थियो । यसपछि २०१८ मा रसियामा भएको वल्र्डकप फ्रान्सले जितेको थियो । अघिल्लो वल्र्डकपमा पनि फ्रान्स फाइनल पुगे पनि अर्जेन्टिनासँग पेनाल्टी शूटआउटमा हारेको थियो । यसपटक पनि फ्रान्सलाई उपाधि दाबेदारीको रूपमा हेरिएको छ ।

६ ग्रुप स्टेज–१९३०, १९५४, १९६६, १९७८, २००२, २०१०

१ नकआउट–१९३४

२ क्वार्टरफाइनल–१९३८, २०१४

१ चौथो–१९८२,

२ तेस्रो–१९५८, १९८६

२ रनरअप–२००६, २०२२

२ च्याम्पियन–१९९८, २०१८

स्पेनको १७ औं सहभागिता

स्पेनको आगामी वल्र्डकप १७ औं सहभागिता हुनेछ । स्पेनले उद्घाटन वल्र्डकप १९३० देखि खेल्दै आएपनि लगातार भने प्रतियोगितामा सहभागिता जनाउन सकेन । स्पेनले २०१० मा दक्षिण अफ्रिाका आयोजित वल्र्डकपमा उपाधि जितेको थियो । तर, यसपछि भने स्पेनको प्रदर्शन खासै राम्रो भएको छैन ।

६ ग्रुप स्टेज–१९६२, १९६६, १९७८, १९८२, १९९८, २०१४

४ नकआउट–१९९०, २००६, २०१८, २०२२

४ क्वार्टरफाइनल–१९३४, १९८६, १९९४, २००२

१ चौथो–१९५०

१ च्याम्पियन–२०१०

इंग्ल्यान्ड १७ औं सहभागिता

स्पेनको जस्तै इंग्ल्यान्डको पनि आगामी वल्र्डकप १७ औं सहभागिता हुनेछ । इंग्ल्यान्डले सेकेण्ड वल्र्डवार समाप्तपछि मात्रै वल्र्डकपमा सहभागिता जनाएको थियो । सन् १९५० वल्र्डकपमा डेब्यु गरेको इंग्ल्यान्ड यसको १६ वर्षपछि १९६६ को वल्र्डकपमा च्याम्पियन बन्न सफल भएको थियो । यसपछि भने इंग्लिस टिमलाई सँधैं उपाधि दावेदारीको रूपमा हेरिएपनि फाइनलसम्म पनि पुग्न सकेको छैन । १९६६ मा उपाधि जितेयता १९९० र २०१८ का संस्करणमा सेमिफाइनल पुग्नु नै टिमको लागि ठूलो उपलब्धि रहेको छ ।

४ ग्रुप स्टेज–१९५०, १९५८, १९८२, २०१४

२ नकआउट–१९९८, २०१०

७ क्वार्टरफाइनल–१९५४, १९६२, १९७०, १९८६, २००२, २००६, २०२

२ चौथो–१९९०, २०१८

१ च्याम्पियन–१९६६