सल्यानमा जग खन्ने क्रममा ८६ बम फेला


काठमाडौं । 

सल्यानको शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका छन्। फेला परेका बममध्ये ८२ सकेट बम, ३ सुतली बम र १ बोतल बम रहेका छन्।

प्रहरीका अनुसार बुधबार पहिलोपटक शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पार्ने काम सुरु गरिएको थियो। शनिबार पुनः उत्खनन गर्दा थप बम, वाकीटाकी सेट, विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने सामग्री र फायरिङ केबल समेत फेला परेको हो।

फेला परेका सबै बम निष्क्रिय पार्न नेपाली सेनाका विभिन्न टोलीहरू परिचालन गरिएको छ।