प्रधानमन्त्री बालेन औपचारिक समारोहमा सहभागी नहुने

2.35k
Shares

काठमाडौं ।

बुद्धजयन्तीको अवसरमा परम्परादेखि चल्दै आएको औपचारिक समारोहमा कार्यकारी प्रमुख जाने परम्परा यस वर्ष तोडिने भएको छ ।

२५७०औं बुद्धजयन्तीका अवसरमा तय भएका कुनै पनि समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नहुने भएपछि सो परम्परा तोडिन लागेको हो ।

सिद्धार्थ गौतमको जन्म, बोधिज्ञान लाभ र महापरिनिर्वाण एकै दिन परेकाले यो दिन नेपाललगायत विश्वभर पवित्र दिनका रूपमा मनाउने गरिन्छ । यो दिन संयुक्त राष्ट्रको कार्यालयमा पनि बिदा दिइँदै आएको छ । कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री शाह बुद्धजयन्तीको अवसरमा पूर्वनिर्धारित कार्यक्रममा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले सम्बन्धित पक्षलाई जानकारी दिएको हो ।

यसअघि लुम्बिनीमा हुने समारोहमा सहभागी हुने भन्दै प्रधानमन्त्री शाहले आनन्दकुटी विहारमा हुने समारोहमा सहभागी हुन नसक्ने जानकारी दिएको विहारले जनाएको छ । अहिले अन्तिम समयमा लुम्बिनीमा हुने समारोहमा पनि सहभागी हुन नसक्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका सदस्य श्याम रोकाका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट सहभागिता नहुने जानकारी आएपछि कार्यक्रमको संरचना परिवर्तन गरिएको छ । अब उक्त कार्यक्रममा डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री शाह आज लुम्बिनी पुगेर बिहान बुद्धजयन्ती कार्यक्रममा सहभागी भई फर्किने तयारी गरिएको थियो । तर, अन्तिम समयमा कार्यक्रम परिवर्तन भएको कोषले जनाएको छ ।
मुलुकको कार्यकारी प्रमुख बुद्धजयन्तीको अवसरमा स्वयम्भुस्थित आनन्दकुटी विहारमा हुने औपचारिक समारोहमा सहभागी हुने परम्परा रहेको छ ।

तीन वर्षको एकपटक राष्ट्रप्रमुख पनि सहभागी हुने परम्परा रहेकाले यसपटक राष्ट्रप्रमुख रामचन्द्र पौडेल भने समारोहमा सहभागी हुने कार्यक्रम छ । परम्पराअनुसार तीन वर्षको एकचोटि अस्थि धातु प्रदर्शन तथा नगरपरिक्रममा गर्ने वर्ष भएकाले राष्ट्रप्रमुख पनि आनन्दकुटी विहारमा हुने कार्यक्रममा सहभागी हुने गर्दछन् ।

यो परम्परा राजा त्रिभुवनको पालादेखि चल्दै आएको थियो ।यसैबीच बुद्धजयन्तीको पूर्वसन्ध्यामा ललितपुरको नागबहालमा बिहीबार भएको बृहत् बौद्धसभामा राष्ट्रपति सहभागी हुनुभएको छ । ललितपुरमा बुद्धजयन्ती मनाउने परम्परा सुरु भएको ७५ वर्ष पुगेको अवसरमा आयोजित हीरक समारोहलाई सम्बोधन गर्दै उहाँले बुद्ध दर्शनलाई व्यवहारमा रूपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभयो ।

बुद्धका अहिंसामैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले विश्वका अनेकन समस्यामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पार्नुभयो । आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको उल्लेख गर्दै पौडेलले यस्तो अवस्थामा बुद्धको उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने विश्वाससमेत व्यक्त गर्नुभयो । राणाशासन विरुद्धको संघर्ष पार गर्दै ललितपुरको नागबहालबाट सुरु भएको बुद्धजयन्ती मनाउने परम्परा यस वर्ष ७५ वर्ष पुगेको छ ।